साम्राज्ञी विरुद्द भुवनले मुद्दा दर्ता गरे



रंगखबर, काठमाडौँ – अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्द काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । साम्राज्ञीले आफुमाथि झुटा लाल्छना लगाएर मानहानी भएको भन्दै भुवनले गाली बेइज्जती सम्वन्धि मुद्दा दर्ता गरेका हुन् ।

लकडाउनको समयमा साम्राज्ञीले इन्स्टाग्राममा लाइभ आएर आफुले काम गरेका तीन वटा ठुला व्यानरबाट दुर्व्यवहार सहनु परेको आरोप लगाएकी थिइन् । त्यसपछि अभिनेता केसीले साम्राज्ञीलाई ‘जुन थालमा खाने त्यहि थाल दुलो पार्ने’ भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जालमा बराबरको अभिनय फिल्ममा पनि गर्न भन्दै साम्राज्ञीको कटाक्ष गरेका थिए ।

त्यसपछि साम्राज्ञी पनि के कम, उनले जापानको एक अवार्डमा समेत आफुमाथि भुवनले दुर्व्यवहार गरेको खुलासा गरिदीइन । भुवनलाई यो कुरा सह्य नभएपछि आफु अन्यायमा परेको भन्दै नेपाल कलाकार संघमा साम्राज्ञी विरुद्द उजुरी दिन पुगे । संघले दुईको विवाद मिलाउने फिल्मकर्मीको आशा थियो ।

तर, हप्ता दिन बित्दा पनि विवाद टुंगोमा नपुगेपछि भुवनले अदालतमा मुद्दा दायर गर्न पुगेका हुन् । यस बीचमा भुवनको सपोर्टमा कलाकार युवराज लामा, निर्देशक सोभित बस्नेत र फिल्म ‘ड्रिम्स’का प्रोडक्सन कन्ट्रोलर गणेश सापकोटा मिडियामा आए । उनिहरुले साम्राज्ञीले यस कुरामा बोल्न ढिला गरेको, भुवनको सामान्य व्यवहार नै त्यस्तो भएको र साम्राज्ञीको यो आरोप मिथ्या भएकोसम्मका अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्