पूजालाई शिल्पाको साथ, भन्छिन ‘भोलि मान्छे मारेर सरी भन्न के बेर ?’



रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्माको शारीरिक बनोटमाथि टिप्पणी गरेर विवादमा मुछिएका ‘रजतपट’ प्रस्तोता प्रकाश सुवेदी विरुद्द अभिनेत्री शिल्पा पोखरेलले पनि बोलेकी छन् ।

सुवेदीले कुनै बेला आफ्नो बारेमा पनि अतिरन्जित प्रोग्राम बनाएर प्रशारण गरेको भन्दै उनले अब सहन नहुने प्रतिक्रिया दिएकी हुन् । उनी फेसबुकमा लेख्छिन ‘राष्ट्रिय टेलिभिजनमा महिला होस् या पुरुष कसैको पनि शारीरिक बनोटमाथि छुद्र टिप्पणी गरिन्छ भने त्यो सह्य हुँदैन । यो कलाकार भन्दा पनि समग्रमा आम मानिसहरुको लागि शारीरिक बनोट माथिको प्रहार हो । ‘

सुवेदीले केहि दिन अगाडी मागेको माफि कुरापनि शिल्पालाई चित्त बुझेको छैन । ‘यसले समग्र पत्रकारिता जगतको पनि धज्जी उडाएको छ । कुनै बेला तिनै प्रस्तोताले मेरो विषयमा पनि अतिरन्जित प्रोग्राम बनाएर प्रशारण गरेका थिए । पत्रकारिताको नाममा पटक-पटक यस्तो खालको प्रहार सहन सकिदैन । ‘गल्ति गरेर सरि भन्न कति सजिलो है ?’ यस्तै हो भने त भोलि मान्छे मारेर सरि भन्न के बेर !’ उनले पूजालाई स्टाटस ट्याग गर्दै लेखेकी छन् ।

‘एपीवान’ टेलिभिजनबाट प्रशारण हुने ‘रजतपट’ कार्यक्रममा केहि दिन अगाडी सुवेदीले पूजालाई ‘दारा निस्किएको अनुहार’ भन्दै ‘डोमिनेट’ गरेका थिए । त्यसपछि पूजाले आफुलाई पटक-पटक ह्यारेसमेन्ट गरेको भन्दै बिभिन्न संघ संस्थामा उजुरी दिएकी थिइन् ।

उजुरीपछि सुवेदीले उक्त कार्यक्रमबाट माफी मागिसकेका छन् । तर, उक्त माफि माग्ने शैली भएन भन्दै पूजालगायत निर्देशक सुदर्शन थापाले कारबाही कार्य अगाडी बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्