अस्करका विद्यार्थीलाई सिंगापुरे स्टुडियोको अवार्ड



नेपालको एक मात्र फिल्म सम्वन्धि अध्यापन कलेज ‘अस्कर कलेज अफ फिल्म स्टडिज’का १० जना विद्यार्थीलाई सिंगापुरको इन्फिनिट स्टुडियोले ‘वुरसरी अवार्ड’ प्रदान गर्ने भएको छ ।

विहिबार अस्कर कलेज र इन्फिनिट स्टुडियो बीच १० जनालाई यो अवार्ड प्रदान गर्ने विषयमा सम्झौता भएको हो । यसअघि स्टुडियोले ५ जना विद्यार्थीलाई वर्षेनी छात्रवृत्ती प्रदान गराउदै आएको थियो ।

‘३५ हजार रकमसहितको उक्त छात्रवृत्ती प्रत्येक साल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गर्थ्यो । तर, ‘वुरसरी अवार्ड’ भने पहिलो, दोस्रो र तेस्रो गरि तिनै तहका विद्यार्थीलाई प्रदान गरिनेछ । १७ हजार ५ सय नगदको यो छात्रवृत्ती पहिलो र दोस्रो वर्षका ४/४ र तेस्रो वर्षका २ विद्यार्थीलाई बाँडिनेछ ।’ अस्करका प्रिन्सिपल विनोद पौडेलले प्रस्ट्याए ।

‘कोभिड-१९ को असहज परिस्थितिमा विद्यार्थीहरुलाई अलिकति भएपनि राहत होस् भन्ने हेतुले यो अवार्ड दिने रहेछ ।’ पौडेलले अगाडी प्रस्ट्याए । ‘अस्कर र इन्फिनिट बीच अन्य कुरामा पनि सहकार्य गर्ने सम्झौता भएको छ । ‘वुरसरी अवार्ड’ले आगामी वर्षमा निरन्तरता पाउनपनि सक्छ नपाउनपनि सक्छ ।’

इन्फिनिट र अस्करले विगत २०७३ सालदेखि सहकार्य गर्दै आइरहेका छन् । १६ वर्ष अगाडी स्थापना भएको अस्कर कलेजले बिभिन्न उतारचढाव थेग्दै यहाँसम्म आइपुगेको र पछिल्लो समय नेपालमा फिल्म पढ्ने विद्यार्थीहरु संख्या बढेको प्रिन्सिपल पौडेलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्