राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन



राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ ।

१ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्