छायांकार जावेद शाहको निधन



छायांकार जावेद शाहको निधन भएको छ । नेपाली फिल्मको छायांकन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका जावेदको हृदयघातका कारण बुधबार निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।

७० वर्षिया जावेदको बिहिबार बिहान मुस्लिम संस्कारका साथ अन्तेष्टि गरिएको छ । काठमाडौँ बासिन्दा जावेदका पत्नीसहित दुई सन्तान छन् । फिल्मबाट सन्यास लिएर पछिल्लो समय घरमै रहेका जावेदले २०४६ सालमा फिल्म ‘भाग्यरेखा’बाट छायांकारको यात्रा तय गरेका थिए ।

सन् १९८२ मा रुसबाट फिल्म छायांकन पढेर आएका जावेदले डेब्यु फिल्म अगाडी ‘बदलिँदो आकाश’मा सहायक छायांकारको रुपमा काम गरेका थिए ।

जावेदले छायांकन गरेको अन्तिम फिल्म ‘मनको टुक्रा’ २०६० सालमा रिलिज भएको थियो । त्यसयता उनले फिल्मको छायांकन गरेका थिएनन् । जावेदले ‘विजय पराजय’, ‘युगदेखि युगसम्म’, ‘कसम’, ‘चोखो माया’, ‘प्रतिज्ञा’, ‘ज्वाला’, ‘प्रतिक्षा’, ‘सिमाना’, ‘अवतार’, ‘जमिन’, ‘रानी खोला’, ‘नातेदार’  जस्ता फिल्ममा आफ्नो छायांकन कौशल देखाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्