‘तीन जन्तु’ टिजरमा दुई चोर र रहस्यमय युवती बीचको द्वन्द्व



अर्पण थापा निर्देशित फिल्म ‘तीन जन्तु’को टिजर रिलिज भएको छ । क्राइम थ्रिलर जनराको टिजरमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, रोबिन तामाङ, कालु राना र निर्देशक थापालाई देख्न सकिन्छ ।

२०३० सालको कथामा आधारित फिल्ममा सौगातको अवतार भिन्न छ । उनलाई चोर अवतारमा ठम्याउनै मुस्किल पर्छ । उच्च पहाडी पृष्ठभुमिमा तयार फिल्मको कथा मुख्य पात्रको वरिपरि घुम्छ ।

हरि तामाङ, सन्तोष अधिकारी र केली जोय म्याकनमाराले लगानी गरेको फिल्म फस्ट थिङ्क इन्टरटेनमेन्ट, असप इन्टरटेनमेन्ट र एटिएफ प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी १ (पुष १७)मा रिलिज हुने फिल्ममा नोबल फ्रेक्सको संगीत, आलोक शुक्लाको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ ।

कथा सारांश

दुई चोरहरुलाई आफुले लुटेको दुई ओटा बाकस सुरक्षित ठाउँमा लुकाउनु छ । दुवै जना एकान्त जंगलको बीचमा अवस्थित एक घरमा पुग्छन । उनिहरुको लागि त्यो घर एकदमै उपयुक्त हुन्छ ।

तर, पछि गएर थाहा हुन्छ कि, त्यस घरमा एक रहस्यमय युवती छिन् । अब ति चोरहरुले रहस्यमय युवतीसँग रात बिताउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्