‘लक्ष्मी बम्ब’ ट्रेलर रिलिज, तर किन लुकाइयो डिसलाइक ?



रंगखबर, काठमाडौँ – अक्षय कुमार स्टारर फिल्म ‘लक्ष्मी बम्ब’को ट्रेलर रिलिज भएको छ । उनको जोडी कियरा आडवाणी छन् । यी दुईले पछिल्लो फिल्म ‘गुड न्युज’मा पनि स्क्रिन साझेदारी गरेका थिए ।

३ मिनेट ४० सेकेण्ड लामो ट्रेलरमा अक्षयलाई बढी नै हाइलाइट्स गरिएको छ । उनि पुरुष र महिलाको अवतारमा प्रस्तुत छन् । हरर कमेडी फिल्मको कथा अक्षयकै वरिपरि घुम्छ । ट्रेलरमा अक्षय (लक्ष्मण)को लक्ष्मी बन्ने यात्रालाई देखाइएको छ ।

‘लक्ष्मी बम्ब’ तामिल फिल्म ‘मुनि २: कन्चना’को रिमेक हो । दुवै फिल्मको निर्देशन राघव लोरेन्स गरेका हुन् ।

९ नोभेम्बरमा डिज्नी प्लस हटस्टारबाट प्रिमियर हुने फिल्ममा अक्षय र कियरासँगै आयशा राजा मिश्र, तुसार कपूर, तरुण अरोडा, राजेश शर्मालगायतले पनि अभिनय गरेका छन् ।

युट्युबमा लुकाइयो लाइक र डिसलाइक

पछिल्लो समय बलिउड दर्शकले स्टार र स्टारकिडको फिल्म बहिस्कार गर्ने ट्रेन्ड नै चलाएका छन् । सुशान्त सिंह राजुपुत आत्महत्या प्रकरणमा मुछिएपछि आलिया भट्ट, संजय दत्त र महेश भट्टको फिल्म ‘सडक २’ले युट्युबमा करोडौँ डिसलाइक पाएको थियो ।

स्टारकिडको फिल्म बहिस्कार गर्ने शिलशिला ‘सडक २’मा रोकिएन । इशान खट्टर र अनन्या पाण्डे स्टारर फिल्म ‘खालिपिली’को प्रचार सामाग्रीमा पनि डिसलाइकको बाढी नै आयो ।

सुशान्तको मृत्युसँग अक्षयको नामपनि जोडिएपछि ‘लक्ष्मी बम्ब’को टिजरमा पनि सोचेभन्दा बढी डिसलाइक आएको थियो । त्यसैले ट्रेलरमा ‘लक्ष्मी बम्ब’ टिमले लाइक र डिसलाइकको नम्बर लुकाएको छ ।

कमेन्ट बक्समा पनि दर्शकको नकारात्मक कमेन्टको बर्षा भएको छ । प्राय: दर्शकले ‘कन्चना’को कथा र निर्देशन दोस्रो पटक हेर्नुको औचित्य नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्