आगामी दशैँमा ‘परदेशी २’



रंगखबर, काठमाडौँ – आगामी वर्षको दशैँमा फिल्म ‘परदेशी २’ रिलिज हुने भएको छ । हालै मात्र ५० दिने सेड्युलको छायांकन सकाएको फिल्म दशैँ रिलिज गर्ने निर्माण पक्षले बतायो ।

‘यसै वर्षको दशैँमा रिलिज गर्ने गरि फिल्मको छायांकन सुरु गरेका थियौँ । तर, कोरोना महामारीका कारण सम्भव भएन । हाम्रो कथाबस्तुले दशैँको परिवेश बोल्ने भएकाले पनि २०७८ को दशैँ टार्गेट गरेका हौँ ।’ निर्माता राजेश वंशलले भने ।

नारायण रायमाझीले निर्देशन गरेको फिल्ममा दीलिप रायमाझी, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बल्लुलगायतका कलाकारहरुको मुख्य भूमिका छ । यसै फिल्म मार्फत लोकगायक प्रकाश सपुतले ठुलोपर्दामा डेब्यु गर्दैछन् ।

निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट फिल्म निर्देशन गरिसकेका छन् । त्यसैले ‘परदेशी २’ दर्शकको प्रतिक्षामा छ ।

मानकृष्ण महर्जनले खिचेको फिल्ममा सुदिप कुँवरको सहायक निर्देशन, अष्ट महर्जनको द्वन्द्व, बीबी अनुरागीको संगीत, गोविन्द राई/रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्