रंगखबर, काठमाडौँ – अन्तत: अभिनेता राजेश हमालले फिल्ममा कमब्याक गर्ने भएका छन् । शंकर कार्कीले निर्देशन गर्ने ‘सत्यम्’मा राजेशले शिर्ष भूमिका निर्वाह गर्नेछन् ।

निर्माण पक्षले ‘सत्यम’को ‘थिमेट्रीकल स्केच’ सार्वजनिक गर्दै कास्टिङ अडिसन पनि आव्हान गरेको छ । स्केचमा अभिनेता हमाललाई प्रस्तुत गरिएको छ । लडाकु पोशाकमा उनले बन्दुक समातेका छन् ।
हमाल चार वर्ष अगाडी रिलिज भएको ‘बिजुली मेसिन’ पछाडी कुनै पनि फिल्ममा देखा परेका थिएनन् ।
रेशम सापकोटाले लेखेको फिल्ममा अभिनेता अनुपविक्रम शाहीले भिलेनको भूमिका निर्वाह गर्ने निर्माण पक्षले बताएको छ । यस्तै कलाकारद्वय पल शाह र उपासना सिंह ठकुरीले पनि फिल्ममा काम गर्ने सहमति गरेको बताइएको छ । तर, भूमिकाबारे जानकारी दिइएको छैन ।
अभिनेता हमालको अनुरोधमा ‘सत्यम – राइजिङ अफ दि हिरोज’ ‘टूडी’ प्रविधिमा निर्माण गरिने बताइएको छ ।
रेशम सापकोटाले निर्माण गर्ने फिल्ममा बिदुर पाण्डे ‘नबिन’को डिओपी’, अष्टमान महर्जनको द्वन्द्व र योगेश काजी/गणेश पौडेल/कुटुम्ब ब्याण्डको संगीत रहनेछ ।
२६ पात्रको लागि अडिसन आव्हान

माथि उल्लेखित पात्रसँगै फिल्मको लागि अन्य २६ पात्रको लागि अडिसन आव्हान गरिएको छ । अडिसनबाट दुई/दुई जना पुरुष र महिला मुख्य कलाकार छानिनेछन् ।
यस्तै चार जना मुख्य चरित्र अभिनेता, दुई चरित्र अभिनेत्री, तीन जना सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, दुई/दुई जना सहायक पुरुष र महिला कलाकार, दुई जना बाल कलाकार र अन्य छोटो भूमिकाको लागि पाँच जना कलाकार छनोटको लागि जानकारी दिइएको छ ।
अडिसनमा सहभागी हुन इच्छुकहरुले फिल्म निर्माण कम्पनि ‘नवयुग सिनेमा प्रालिको इमेल ठेगाना ‘[email protected]‘ मा आफ्नो प्रोफाइल तथा शोरिल पठाउनु पर्नेछ ।