‘प्रकाश’मा प्रदीपको जोडी बन्दै धनगढीकी रेनु



रंगखबर, काठमाडौँ – दिनेश राउतले निर्देशन गर्ने नयाँ फिल्म ‘प्रकाश’को लागि मुख्य अभिनेत्री फाइनल भएकी छन् ।

धनगढीकी रेनु योगीलाई फिल्मका कास्टिङ डाइरेक्टर अनुप बरालले मुख्य अभिनेत्रीको रुपमा छनोट गरेका हुन् । अब रेनुले आफ्नो डेब्यु फिल्ममा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग जोडी बाँध्नेछिन ।

विकास सुवेदीले लेखेको ‘प्रकाश’मा प्रदीपले शिर्ष भूमिका निर्वाह गर्दैछन् । यहि फिल्म मार्फत लभस्टोरी निर्देशक राउत र चकलेटी हिरो प्रदीपको पहिलो सहकार्य हुँदैछ ।

स्नातक तहमा अध्ययन गरिरहेकी रेनु थिएटर आर्टिस्ट हुन् । उनले हालसम्म १० ओटा नाटक, केहि लघु फिल्म र ‘एसिड काण्ड’ नामक डकुमेन्ट्रीमा अभिनय देखाइसकेकी छन् । यस्तै सन् २०१३ मा उनले अभिनेता दयाहाङ राईसँग ‘मित ज्यू’ नामक नाटकमा अभिनय गरेकी थिइन् ।

प्रस्तुति र चरित्र मिल्ने भएपछी ‘प्रकाश’को लागि रेनुलाई छनोट गरिएको निर्देशक राउतले बताए ।

फागुन दोस्रो सातादेखि छायांकनमा जाने फिल्मलाई जुम्लामा खिचिनेछ । जसको लागि ४५ दिने छायांकन सेड्युल तय गरिएको छ । 

विनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने फिल्ममा महेन्द्र अधिकारीले लगानी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्