दशैँमा ‘आरआरआर’ले तोक्यो रिलिज, अजयका दुई फिल्मको भिडन्त



रंगखबर, काठमाडौँ – तेलगु फिल्म ‘राइज, रिभोल्ट & रिभेन्ज: आरआरआर’ २०२१ को दशैँमा रिलिज हुने भएको छ । निर्माण पक्षले यो मेगा बजेट फिल्मको रिलिज डेट फाइनल गरेको छ ।

जुनियर एनटीआर, राम चरण, अलिया भट्ट र अजय देवगण स्टारर फिल्मको रिलिज डेट अक्टुबर १३ लाई फाइनल गरिएको हो । अष्टमीमा रिलिज हुने फिल्मले बक्सअफिसमा पाँच दिने विकेन्ड मनाउने छ ।

‘बाहुबली’ निर्देशक एसएस राजमौली निर्देशित ‘आरआरआर’ चार सय करोड माथिको बजेटमा निर्मित फिल्म हो । यो निर्माण समयदेखि नै चर्चामा छ ।

अजय भर्सेस अजय 


‘आरआरआर’को रिलिज डेट फाइनल भएसँगै बलिउडमा तरंग पैदा भएको छ । अक्टुबर १५ मा यसअघि नै अजय स्टारर बायोग्राफिकल स्पोर्ट ड्रामा ‘मैदान’को रिलिज तोकिएको थियो ।

दुई दिनको अन्तरालमा अब बक्सअफिसमा अजय भर्सेस अजय हुने पक्का भएको छ ।

फिल्म ‘मैदान’ भारतीय फुटबलको स्वर्णिम युग (१९५२-६२) मा आधारित छ । जहाँ अजयले फुटबल कोच स्येद अब्दुल रहिमको भूमिका निर्वाह गरेका छन् ।

बोनी कपूर, जी स्टुडियो, अरुनवा जोय सेनगुप्ता र आकाश चावलाले निर्माण गरेको ‘मैदान’लाई अमित रबिन्द्ररनाथले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्