करिश्मालाई ‘महानायिका’को ताज ~ फोटोफिचर ~



रंगखबर, काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’ उपाधि दिइएको छ । ‘आर के इन्टरटेनमेन्ट ग्रुप’ले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा शनिबार करिश्मालाई यो उपाधिद्वारा सम्मान गरेको हो ।

करिश्मालाई ‘महानायक’ राजेश हमालले ‘महानायिका’को स्यास र ताज लगाइदिएका थिए । भने, सूचना तथा संचारमन्त्री पार्वत गुरुङले सम्मानपत्र थमाएका थिए ।

‘जुन सम्मान र सम्बोधन दिनु भयो, त्यसको लागि आयोजकलाई धन्यवाद । मैले यसलाई एउटा कलाकारलाई गरिएको सम्मानको रुपमा लिएकी छु ।’ उपाधि ग्रहण गरेपछि करिश्माले भनिन ।

वि.सं. २०४४ सालमा ‘सन्तान’बाट डेब्यु गरेकी करिश्माले ६ दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनी पछिल्लो पटक फिल्म ‘जात्रै जात्रा’को एक गीतमा देखिएकी थिइन् ।

सदैव आफ्नो सुन्दरता र अभिनयले दर्शकको मन जितिरहने करिश्माले ‘कस्तुरी’, ‘शुभकामना’ ‘मनकामना’, ‘भाउजु’, ‘ट्रक ड्राइभर’, ‘महादेवी’, ‘पहिलो प्रेम’, ‘बन्धन’, ‘नासो’, ‘अल्लारे’, ‘साथी’, ‘जिन्दगानी’, ‘ढुकढुकी’, ‘बसन्ती’, ‘यो मायाको सागर’, ‘बाबुसाहेब’लगायतका चर्चित फिल्ममा अभिनय गरिसकेकी छन् ।

पर्दामा करिश्मा र राजेश हमालको जोडी अत्याधिक रुचाइएको थियो । अहिले पनि यो जोडीलाई मन पराउनेको जमात ठुलै छ ।

‘आर के इन्टरटेनमेन्ट ग्रुप’को उक्त समारोहमा निर्देशक तथा कलाकार नीर शाह, नेपाल विद्युत प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक कुलमान घिसिङ, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा, शिक्षा तथा समाजसेवी रमेश अधिकारी लगायतका व्यक्तिहरुलाई राष्टिय सम्मान प्रदान गरिएको थियो ।

तस्विर: प्रकाश ढकाल

प्रतिक्रिया दिनुहोस्