छायांकनमा उत्रियो ‘चिसो मान्छे’, काठमाडौँदेखि बाजुरासम्म खिचिने



रंगखबर, काठमाडौँ – निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्मको छायांकन सुरु गरेका छन् । उनले स्वस्तिमा खड्का र अर्पण थापालाई लिड लिएर फिल्म ‘चिसो मान्छे’को छायांकन सुरु गरेका हुन् ।

सोमबार राजधानीमा आयोजित फिल्मको शुभसाइतमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सफलताको शुभकामना दिए ।

काठमाडौँहुँदै सुदुरपश्चिमको बाजुरा जिल्लासम्म यो फिल्म खिचिनेछ । सामाजिक विषयको यो फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 

२०७८ को भदौ ११ गते रिलिज हुने फिल्ममा सुभाष भुषालले संगीत भर्नेछन् ।

प्राय: फिल्ममा नयाँ प्रयोग गर्न रुचाउने निर्देशक खनालले यो फिल्मलाई बिना घाममा खिच्नेछन् । उनले आफ्नो पछिल्लो सफल फिल्म ‘आमा’लाई पानीमा खिचेका थिए ।

‘चिसो मान्छे’मा शर्मिला पाण्डेले लगानी गर्नेछिन । उनले यसअघि दीपेन्द्र निर्देशित ‘आमा’, ‘चंगा चेट’ र ‘लभ लभ लभ’मा पनि लगानी गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्