राष्ट्रिय अवार्डमा कंगना, मनोज र धनुष सर्वोत्कृष्ट



रंगखबर, काठमाडौँ – भारतको प्रतिष्ठित ‘राष्ट्रिय अवार्ड’ घोषणा गरिएको छ । ६७ औँ संस्करणमा सन् २०१९ मा रिलिज भएका सर्वश्रेष्ठ फिल्मलाई अवार्ड प्रदान गरिनेछ ।

यो संस्करणमा ‘स्वर्ण कमल’ विधा अन्तर्गत सर्वोत्कृष्ट फिल्मको अवार्ड ‘मराक्कार: अरबीकाडालिन्टे सिहम’ले जितेको छ । यो तामिल फिल्म हो । यस्तै बलिउड फिल्म ‘भट्टर हुरैन’बाट संजय पुरन सिंह चौहानले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भएका छन् ।

यस्तै अभिनेत्री कंगना रनाउतले ‘मणिकर्णिका’ र ‘पंगा’बाट सर्वोत्कृष्ट अभिनेत्री अवार्ड जितेकी छन् । भने, बलिउड फिल्म ‘भोंसले’बाट मनोज बाजपायी र तामिल फिल्म ‘असुरान’बाट धनुषले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भए ।

यो सँगै कंगनाको राष्ट्रिय अवार्डको संख्या ४ पुगेको छ । मनोजको तेस्रो र धनुषको यो दोस्रो राष्ट्रिय अवार्ड हो ।

यस्तै तामिल फिल्म ‘सुपर डिलक्स’बाट विजय सेतुपतिले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड जित्दा बलिउड फिल्म ‘द ताशकन्द फाइल्स’बाट पल्लवी जोशी सर्वोत्कृष्ट सहअभिनेत्री घोषित भइन ।

मलायलम फिल्म ‘जल्लीकट्टु’ले सर्वोत्कृष्ट छायांकनको अवार्ड जित्दा तेलुगु फिल्म ‘जर्सी’ले सर्वोत्कृष्ट सम्पादनको अवार्ड आफ्नो पोल्टामा पार्यो ।

पटकथाको लेखन तर्फ बंगाली ‘ज्येषथोपुत्रो’ सर्वोत्कृष्ट ठहरिदा संवाद तर्फ बलिउड फिल्म ‘द ताशकन्द फाइल्स’ले अवार्ड जित्यो ।

सर्वोत्कृष्ट संगीतकारको अवार्ड तामिल फिल्म ‘विश्ववासम’ले जित्दा तेलुगु फिल्म ‘महर्षि’ले सर्वोत्कृष्ट कोरियोग्राफर अवार्ड जित्न सफल भयो ।

क्षेत्रीय सर्वोत्कृष्ट फिल्मको विधामा बलिउडबाट ‘छिचोरे’ले अवार्ड जित्यो । भने, तामिलबाट ‘असुरान’, तेलुगुबाट ‘जर्सी’, मलायलमबाट ‘कल्ला नोट्टम’, मराठीबाट ‘बार्दो’ र बंगालीबाट ‘गुम्नामी’ सर्वोत्कृष्ट ठहरिए ।

गत वर्षको मेमा ६७ औँ संस्करणको अवार्ड वितरण गर्ने कार्यक्रम थियो । तर, कोभिड-१९ का कारण समारोह स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्