‘डाँडाको बरपीपल’को छायांकन सुरु, शिव र गौरीले जोडी बाँध्दै



रंगखबर, काठमाडौँ – अनुभवी निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने नयाँ फिल्म ‘डाँडाको बरपीपल’ छायांकन सुरु भएको छ । बिहिबार राजधानीको एक मन्दिरमा शुभसाइत गरिएको फिल्म शुक्रबारदेखि फ्लोरमा निस्किएको छ ।

रामकाजी घिमिरेको लेखनमा बन्ने फिल्ममा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्लले जोडी बाँध्दैछन् । पारिवारिक कथामा बन्ने फिल्ममा शिव र गौरीले २० वर्षपछि सँगै काम गर्न लागेका हुन् ।

२० वर्ष अगाडी रिलिज भएको ‘धर्मसंकट’पछि यो जोडीले सँगै काम गरेको थिएन । 

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा बन्ने फिल्ममा सलोन बस्नेत, राजीवजंग बस्नेत, यशराज गराचको पनि मुख्य भूमिका रहनेछ । कथाको लागि तीन नायिका र एक नायकको टुंगो केहि दिन मै लगाउने निर्माण पक्षले जानकारी गराएको छ ।

७५ दिनको छायांकन सेड्युल तयार गरिएको फिल्मलाई काठमाडौँ, कालाबाङ, शे-फोक्सुण्डो र पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिनेछ ।

सुशान्त प्रजापतिले खिच्ने फिल्ममा शिव मुखिया/अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन र गोविन्द राईको नृत्य निर्देशन रहनेछ । 

‘डाँडाको बरपीपल’ शोभितले निर्देशन गर्ने २६ औँ फिल्म हुनेछ । २०५५ सालमा ‘राजकुमार’बाट निर्देशनमा डेब्यु गरेका शोभितको पछिल्लो निर्देशकीय फिल्म ‘बाबु कान्छा’ थियो । उक्त फिल्म बक्सअफिसमा फ्लप सावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्