रिलिज स्थगित गर्दै ‘मनसँग मन’को फस्टलुक रिलिज



रंगखबर, काठमाडौँ – पुष्प खड्का र वर्षा सिवाकोटी अभिनित फिल्म ‘मनसँग मन’को रिलिज स्थगित गरिएको छ । चैत २७ गते रिलिज हुने भनिएको फिल्म अब उक्त मितिमा रिलिज हुने छैन ।

छिमेकी मुलुक भारतमा बढ्दो कोरोना संक्रमण र नेपाल सरकारले भिडभाड नगर्न आग्रह गरेपछि ‘मनसँग मन’ टिम रिलिजको लागि हच्किएको हो । त्यसैमा सरकारले हलमा शतप्रतिशत अकुपेन्सीमा दर्शक राख्न अनुमति दिइसकेको छैन ।

दक्षिण एसियामा बढ्दो संक्रमणलाई मध्येनजर गर्दै चैत २७ मै रिलिज हुने भनिएको अर्को फिल्म ‘लप्पन छप्पन २’ले पनि डेट छाडीसकेको छ ।

निर्माण पक्षले फिल्मको फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति स्थगित गरिएको बताएको छ । अहिले नयाँ मितिका लागि वितरकसँग सल्लाह भैरहेको छ ।

सार्वजनिक पोस्टरमा पुष्प र वर्षाको रोमान्टिक अन्दाज देख्न सकिन्छ । यो फिल्ममा पुष्प र वर्षाले पहिलो पटक जोडी बाँधेका छन् ।

कैलाश राईको निर्देशनमा निर्मित फिल्ममा बुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दालगायतका कलाकारहरु पनि अभिनय छ ।

सौरभ लामाले खिचेको फिल्ममा अर्जुन जिसीको सम्पादन छ । फिल्ममा अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, सन्तोष खवासको एक्सन, कमल राई र रामजी लामिछानेको नृत्य कोरियोग्राफी छ ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको व्यानरमा निर्मित फिल्ममा अरुण तामाङले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्