निर्देशक तथा लेखक चेतन कार्कीको निधन



रंगखबर, काठमाडौँ – वरिष्ठ लेखक, निर्देशक, तथा गीतकार चेतन कार्कीको निधन भएको छ । काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उनको ८४ वर्षको उमेरमा निधन भएको हो ।

बैशाख १६ गते भारतको देहरादुनबाट फर्किएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । तर, आइतबार बिहान १० बजे कार्कीले संसारबाट बिदा लिएको पारिवारिक स्रोतले बतायो ।

बि.सं. १९९५ कार्तिक २२ गते स्याङ्जा जिल्लाको आरुखर्कमा जन्मिएका कार्कीले फिल्म ‘परिवर्तन’मा पटकथा, संवाद र गीत लेख्दै फिल्मी करिअर सुरु गरेका थिए ।

बि.सं. २०४३ सालमा फिल्म ‘विश्वास’बाट निर्देशकीय यात्रा थालनी गरेका कार्कीले आफ्नो जीवनकालमा ‘भुमरी’ र ‘पहिलो प्रेम’ नामक फिल्म निर्देशन गरे । कार्कीलाई निर्देशनसहित कथा लेखन, गीत लेखन र साहित्य लेखनमा अब्बल मानिन्छ।

मत्स्य पालन केन्द्र पोखरामा निर्देशकका रुपमा जागिरे रहेका कार्कीले शाही नेपाल चलचित्र संस्थानमा निर्माण अधिकृतका रुपमा काम गरेका थिए । 

कार्कीको निधनपछि फिल्म क्षेत्र शोकमा डुबेको छ । थुप्रै फिल्मकर्मीले कार्कीको निधनप्रति सामाजिक संजालमा शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्