प्राविधिकलाई करिश्माको सहयोग, पुस्कर भन्छन, ‘अझै थुप्रै प्राविधिक मर्कामा छन्’



रंगखबर, काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरले फिल्म प्राविधिकहरुलाई सहयोग गरेकी छन् । कोरोनाको दोस्रो लहरले निम्त्याएको लकडाउनका कारण समस्यामा परेका प्राविधिकहरुलाई कोशेली स्वरुप सक्दो सहयोग गरेको करिश्माले बताइन ।

‘महामारीमा हामि सबैले हातेमालो गर्न जरुरी छ । हाम्रा प्राविधिकहरु आफ्नै सदस्यहरु हुन् । त्यसैले कलाकारहरुलाई अनुरोध गर्न चाहन्छु । जति सक्छौँ, त्यति सहयोग गरौँ । आफ्नो एक गाँसको अलिकति कटाएर सहयोग गर्दा अरुको पनि पेट भरिन्छ ।’ राहत बाड्दै गर्दा करिश्माले भनिन ।

विहिबारको झरीको प्रवाह नगरी करिश्माले नेपाल चलचित्र प्राविधिक संघको सहकार्यमा ३० प्राविधिक परिवारहरुलाई सहयोग गरेकी हुन् । आधारभूत आवश्यकता भन्दै उनले चामल, दाल, तेल, नुन र ग्यास भर्नको लागि जनही १५ सयको दरले सहयोग गरेकी हुन् ।

महामारीको समयमा फिल्म प्राविधिकहरु निक्कै मर्कामा परेको भन्दै नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले सम्पूर्ण फिल्मकर्मीहरुलाई सहयोगको लागि अपिल गरे ।

प्राविधिकहरुलाई राहत बाड्न एक कदम अगाडी देखिएका लामाले भने, ‘फिल्म क्षेत्र नै आफ्नो कर्म ठानेर, यहि क्षेत्रको लागि मरिमेट्छु भन्ने प्राविधिकहरु अहिले सबैभन्दा मर्कामा हुनुहुन्छ । दशकौँदेखि फिल्मकै लागि काम गरिरहेकाले तत्कालै अन्य ठाउँमा हात हालेर स्थापित हुन् पनि उहाँहरुलाई गाह्रो छ । त्यसैले सक्दो सहयोग गरौँ ।’

दोस्रो लकडाउनमा क्याप्टेन तथा कलाकार विजय लामाले ५०, अभिनेत्री सुमिना घिमिरेले ४० प्राविधिकलाई सहयोग गरेको अध्यक्ष लामाले जानकारी दिए ।

‘करिश्मा, सुमिना र विजय ज्युले सहयोग गर्दा अहिलेसम्म १२० परिवारलाई राहत बाडेका छौँ । अझै थुप्रै प्राविधिकहरु समस्यामा हुनुहुन्छ । त्यसैले समय मै उहाँहरुको आधारभूत आवश्यकता पुरा गर्न चलचित्रकर्मीहरु एक जुट हुनुपर्ने अवस्था आएको छ । होइन, भने भोलि हाम्रा दक्ष प्राविधिकहरु पलायन हुन् धेरै समय लाग्ने छैन ।’ अध्यक्ष लामाले सहयोग आग्रह गर्दै अगाडी थपे ‘फिल्मकर्मी, सरकार र जसले जे जति सक्नु हुन्छ, त्यो सहयोग यो समयमा प्राविधिकका लागि आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्