परेशले पुरा गरेको ऋषिको अन्तिम फिल्म



रंगखबर, काठमाडौँ – दिवंगत अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’को फस्टलुक पोस्टर रिलिज गरिएको छ ।

ऋषिको ६९ औँ जन्म जयन्तिको अवसरमा यो फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा ऋषि खुसि देखिएका छन् । 

पत्नी नितु कपूर र छोरी रिद्धिमा कपूर साहनीले फस्टलुक शेयर गर्दै निर्माण पक्ष र अभिनेता परेश रावललाई धन्यवाद व्यक्त गरेका छन् ।

ऋषिको निधनपछि फिल्मको बाँकी काम परेश रावलले पुरा गरेका थिए । परेशले फिल्ममा ऋषिले नै निर्वाह गरेको भूमिकालाई पुरा गरेका छन् । पोस्टरमा पनि ऋषि र परेशको एउटै अन्दाज देख्न सकिन्छ ।

‘शर्माजी नमकीन’ ६० वर्षिया एक प्रेमिल वृद्धको कथा हो । यो फिल्ममा अभिनेत्री जुही चावलाले पनि प्रमुख भूमिका निर्वाह गरेकी छन् ।

सन् १९७३ मा फिल्म ‘बोबी’बाट ऋषिले लिड रोलमा डेब्यु गरेका थिए । तीन वर्ष अगाडी आफ्नै पिता राज कपूरको फिल्म ‘मेरा नाम जोकर’मा ऋषिले बाल कलाकारको रुपमा बलिउडमा इन्ट्री मारिसकेका थिए । उक्त फिल्मबाट ऋषिले राष्ट्रिय अवार्डसमेत जित्न सफल भएका थिए ।

बलिउडलाई थुप्रै ब्लकबस्टर फिल्म दिएका ऋषिको निधन गत वर्षको अप्रिल ३० मा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्