‘टुल्की’ टिजर: बहुपति प्रथा अब पर्दामा



रंगखबर, काठमाडौँ – बहुपति प्रथामा निर्माण भएको फिल्म ‘टुल्की’को टिजर रिलिज गरिएको छ । फिल्मको शिर्ष भूमिका स्वस्तिमा कार्कीले निर्वाह गरेकी छन् । उनको यो डेब्यु फिल्म हो ।

बुधबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको फर्स्टलुक र टिजर सार्वजनिक गरिएको हो ।

तल्लो डोल्पाकी ब्राह्मण युवतीले माथिल्लो डोल्पाका शेर्पा युवकसँग विवाह गरेर गएपछि उक्त युवतीले भोग्नेको पिडा र संघर्ष टिजरमा देखाइएको छ ।

बहुपति प्रथामा घरको जेठो छोराको पत्नीलाई उसका भाईहरुले पनि पत्नीको रुपमा स्विकार्ने गर्छन । यो प्रथा अझै पनि लमजुङ, गोरखा, मुस्ताङ, मनाङ, डोल्पा, जुम्ला र डोल्पाका केहि गाउँहरुमा यथावत रहेको बताइन्छ ।

देवजंग थापाले निर्देशन गरेको यस फिल्ममा स्वस्तिमाका अलावा शिशिर वाङदेल, हिमाली हमाल, रत्न प्रसाद न्यौपाने, शेखर लामा, सौजन सुब्बा, नरेन तामाङ, सोम लामा, दिर्ग लामालगायतका कलाकारहरुको अभिनय छ ।

लक्ष्मण सुनुवारको कथा रहेको फिल्ममा संजीव लिम्बुको संगीत, देवजंग थापाको छायांकन र तारा थापा किम्भेको सम्पादन छ । 

आरपि कर्माचार्य र शेखर लामाले फिल्मको निर्माणमा ९० लाख खर्चिएको बताएका छन् । फिल्म नेपाल भन्दा पहिला विदेशमा रिलिज हुनेछ । विदेश रिलिजको शुभारम्भ यूकेबाट हुने निर्माण पक्षले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्