प्राय: हल खुलिसके, दशैँसम्म सम्पूर्ण हल खोल्छौँ – अशोक शर्मा



रंगखबर, काठमाडौँ – निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले दशैँसम्म देशभरका सम्पूर्ण हल खुलाउने दावी गरेका छन् ।

राजधानीमा आयोजित ‘डाँडाको वरपीपल’को प्रेसमिटमा बोल्दै शर्माले देशभर अब २-३ ओटा जिल्लामा मात्र हल खुल्न बाँकी रहेको र ति हलहरु पनि खुलाउनलाई छलफल भइरहेको बताए । 

‘विगत एक डेढ महिनादेखि चलचित्र विकास बोर्ड अध्यक्ष ज्यु, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानसहित हामीले अब चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउनु पर्छ भन्नेबारे छलफल गरिरहेका छौँ ।’

निर्देशक शर्माले अगाडी भने, ‘त्यसै अनुरुप अहिले नेपालको धेरै ठाउँको हल सरकारी निर्णय अनुसार खुलिसकेका छन् । अहिले तराईको हल संचालनमा पनि छन् । जहाँ भोजपुरी चलचित्रहरु प्रदर्शन भैरहेका छन् ।’

‘अहिले लगभग सबै जिल्लामा हल खुलिसकेका छन् । अपवादमा रहेका २-३ ओटा बाँकी होलान् । ति हल खोल्नलाई पनि सम्बन्धित निकायसँग छलफल गरिरहेका छौँ । अहिले केन्द्रबाट निर्णय नहुने भएकाले प्रत्येक जिल्ला प्रशासन कार्यालयसँग कुरा गरिरहेका छौँ ।’

शर्माले हल खुलेपनि दर्शकलाई हलसम्म तान्नलाई कन्टेन्टको पनि आवश्यकता पर्ने भएकाले सुरुवातमा राम्रो फिल्म प्रदर्शनको लागि पनि आफुहरुले चाँजोपाँजो मिलारहेको बताए ।

‘दशैँसम्म हामि हल खोल्छौँ खोल्छौँ । हल नखोलिकन फिल्म क्षेत्र चलायमान हुदै हुँदैन । त्यस कारणले निर्मातालाई के सुबिधा दिन सकिन्छ ? प्रतिशत बढी दिएर हुन्छ कि ? विकास बोर्डले आर्थिक सहयोग गरेर हुन्छ ? प्रचार फ्री गरेर हुन्छ कि ? यावत कुरा वितरकहरुसँग छलफल गरेर त्यसलाई टुंगोमा पुर्याउदै छौँ ।’

निर्माताहरुलाई कसरी बचाउने भन्नेबारे हामि बिभिन्न संस्थाका अध्यक्षहरु लागिपरेका छौँ । जसका लागि आफुहरुले शिर्ष नेताहरुसँग पनि भेटघाट गरिरहेको निर्देशक शर्माले बताए ।

फिल्म रिलिज भएपछी भने हलसम्म दर्शक कसरी पुर्याउने भन्नेमा मिडियाको ठुलो हात हुने उनले बताए । जसका लागि मिडियाबाट सकारात्मक संदेश दिन पनि आग्रह गरे ।

यसअघि सरकारले काठमाडौँ उपत्यकामा मात्र हल खोल्न अनुमति दिएको थियो । तर, अशोक शर्मालगायतको टिमले देशभर कै हल खोल्नु पर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्