आगामी वर्षको तिहारसम्मलाई बलिउडका १५ फिल्मले घोषणा गरे रिलिज डेट



रंगखबर, काठमाडौँ – कार्तिक ५ गतेदेखि भारतमा सम्पूर्ण हल खुल्ने भएका छन् । बक्सअफिस कलेक्सनमा सबैभन्दा धेरै योगदान दिने महाराष्ट्रमा पनि हल खुल्ने भएपछि बलिउड फिल्मका रिलिज डेट धमाधम घोषणा भएका छन् ।

शनिबार मात्रै अक्षय कुमार र कट्रिना कैफ स्टारर ‘सूर्यवंशी’ले तिहारलाई रिलिज डेट घोषणा गरेको थियो । आइतबार बेलुका ६ बजेसम्म अन्य १४ ओटा फिल्मले पनि रिलिज डेट घोषणा गरेका छन् ।

जस अनुरुप मंसीर ३ गते रानी मुखर्जी र सैफअलि खानको ‘बन्टी और बब्ली २’ रिलिज हुनेछ । मंसीर १७ मा आहान सेट्टी र तारा सुतारियाको ‘तडप’ले रिलिज मिति तय गरेको छ ।

पुष १० मा क्रिसमसको अवसर पारेर रणवीर सिंह र दीपिका पादुकोणको ‘८३’ रिलिज हुनेछ । यसको एक साता भित्रै पुष १६ मा शाहिद कपूरको ‘जर्सी’ प्रदर्शन हुनेछ ।

यस्तै अक्षय कुमार र मानुषी चिल्लरको ‘पृथ्वीराज’ले माघ ७ गते रिलिज मिति तोकेको छ । भने, भ्यालेन्टाइनको अवसर पारेर फागुन २ मा आमिर खान र करीना कपूर खानको ‘लाल सिंह चड्डा’ आउनेछ ।

फागुन १३ गतेलाई रणवीर सिंहको ‘जोयस भाई जोरदार’ले रिलिज मिति रोजेको छ । फागुन २० गते अक्षय कुमारको अर्को फिल्म ‘बच्चन पाण्डे’ रिलिज हुनेछ ।

चैत ४ गते रनबिर कपूरको ‘शमशेरा’ले रिलिज मिति तोकेको छ । भने, ११ गते कार्तिक आर्यन र कियरा आडवाणीको ‘भुल भुलैया २’ रिलिज हुनेछ ।

बैशाख १ लाई रिलिज मिति तोकेको फिल्म ‘केजीएफ: च्याप्टर २’ सोहि मितिमा यथावत रहेको छ । निर्माण पक्षले बैशाख १ लाई नै फाइनल गरेको हो ।

बैशाख १६ गते अजय देवगण र अमिताभ बच्चनको ‘मेडे’ रिलिज हुनेछ । बैशाख २३ मा टाइगर श्रोफको ‘हिरोपन्ती २’ले रिलिज तोकेको छ ।

यस्तै आगामी वर्षको तिहारमा अक्षय कुमार र ज्याक्लिन फर्नान्डेजको ‘राम सेतु’को लागि रिलिज मिति तोकिएको छ ।

नेपाली फिल्म रिलिजको छैन टुंगो 


हल खुलेपछि बलिउड फिल्मले धमाधम रिलिज डेट घोषणा गरेपनि नेपाली फिल्मले भने अझै हलसम्म पुग्ने आँट गर्न सकेका छैनन् ।

करिब एक महिना अगाडी नेपाल सरकारले काठमाडौँ उपत्यकामा मात्र हल खोल्न अनुमति दिएको थियो । तर, चलचित्र बिकास बोर्ड अध्यक्षसहित केहि संघ संस्थाका पदाधिकारीहरुले देशभरका हल एकै पटक खोलिनु पर्ने अडान राखेका थिए ।

केहि दिन अगाडी निर्देशक तथा कलाकार अशोक शर्माले पनि दशैँसम्म देशभरका हल खुल्ने दावी गरेका थिए ।

हल खुल्ने भएपनि नेपाली निर्माताहरुले जोखिम लिन नमानेपछि यतिबेला नेपाली हल विदेशी फिल्मको भर पर्नु पर्ने अवस्था आएको छ ।

अहिलेसम्म दशैँ लक्षित गरेर निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडाको वरपीपल’ले असोज २६ लाई रिलिज मिति तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्