पद्मश्री पुरस्कार २०७७: भक्तराज आचार्य र ‘मोक्षभूमि’ उपन्यासलाई



रंगखबर, काठमाडौँ – भजन शिरोमणि भक्तराज आचार्यलाई ‘पद्मश्री साधना सम्मान’ र उपन्यास ‘मोक्षभूमि’लाई ‘पद्मश्री साहित्य पुरस्कार’ २०७७ प्रदान गरिने भएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रत्येक वर्ष झैँ यस वर्षको पनि पुरस्कार घोषणा गरेको हो ।

आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरूको मुक्तिको गाथा र गरिमालाई चित्रण गरिएको ‘मोक्षभुमि’का लेखक राजनीतिक—सामाजिक अभियन्ता केशव दाहाल हुन् ।

यस्तै नेपाली सांगीतिक क्षेत्र धरोहर भक्तराजले १६ वर्षे करिअरमा एक-से-एक कालजयी सिर्जना दिएका छन् । वि.सं. २०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि उनको गायनयात्रामा पूर्णविराम लाग्यो ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०६३ सालदेखि वर्षभरि प्रकाशित भएका नेपाली साहित्यबाट निर्णायकले छनोट गरेको उत्कृष्ट एक पुस्तकलाई ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ ।

यस्तै प्रतिष्ठानले वि.सं.२०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी तीन-तीन लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्