रंगखबर, काठमाडौँ – क्रान्तिकारी राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने: विद्रोहको नेपाली नाम’को टिजर रिलिज गरिएको छ ।

२ मिनेट ३३ सेकेण्ड लामो टिजरमा रुपचन्द्र (रुदाने)को चरित्र चित्रण गरिएको छ । उनको संघर्ष, समय र परिवेश टिजरमा झल्किन्छ ।
रुदानेको भूमिका दिव्य देवले निर्वाह गरेका छन् । दिव्यले आफुलाई रुदानेको अवतारमा दुरुस्तै उतारेका छन् ।
अमित किशोर सुवेदी र बिकाश ढकाल मिलेर यो फिल्मको अनुसन्धान, लेखन र निर्देशन गरेका हुन् ।
फिल्ममा दिव्य देवसँगै नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल, प्रसूना डंगोललगायतका कलाकारहरुको अभिनय छ ।
सान्ता राव इपिलीले खिचेको फिल्ममा जेसन कुँवरको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।
दावानल क्रियसनको प्रस्तुति रहेको फिल्मका मुख्य कार्यकारी निर्माता जागृत रायमाझी हुन् । यस्तै भानुभक्त थापाले सहलगानी गरेका छन् । भने, सहयोगी निर्माताहरुमा पदम केशर कटुवाल र सहदेव प्रसाद देवकोटा छन् ।
को हुन् रुदाने ?
‘रुदाने’ रुपचन्द्र विष्ट एक विद्रोही क्रान्तिकारी राजनीतिज्ञ थिए । वि.सं. १९९० मकवानपुर जिल्लामा उनको जन्म भएको थियो । उनि एक सम्पन्न परिवारमा जन्मिएका थिए ।
तर, सुखको सम्पूर्ण जीवन त्यागेर उनि समाज परिवर्तन गर्न निस्किएका थिए । उनले १९ वर्षको उमेर मै कम्युनिष्ट पार्टीमा प्रवेश गरे । सरकार विरुद्द बोलेको अभियोगमा उनलाई जेल सजाय दिइयो । त्यसपछि उनले पार्टी त्याग गरेर व्यक्तिगत रुपमा जनताको मन जित्न तर्फ लागे ।
रुदानेको जीवनमा थुप्रै उतारचढावहरु आए । त्यसैले कुनै बेला उनलाई मान्छेहरु ‘पागल’ भन्ने गर्थ्ये ।
उनी विद्रोही थिए । जब्बर थिए । दृढ थिए । उनि एकाध मान्छेलाई मात्र ‘तपाई’ भनि सम्बोधन गर्थ्ये । भने, थोरैलाई ‘तिमि’ । प्राय: मान्छेलाई उनि ‘तँ’ नै भनि सम्बोधन गर्थ्ये ।
उनि नेपालीहरुलाई आरोप लगाउथे, ‘भाते नेपालीलाई भात खान पाएपछि केहि चाहिदैन ।’ उनि सदैव भन्ने गर्थ्ये खान मात्र होइन जीवनमा धेरै कुरा जानिराख, थाहा पाइराख ।
त्यसपछि उनले ‘थाहा’ आन्दोलन सुरु गरे । वि.सं. २०५६ सालमा ६६ वर्षको उमेरमा रुदानेले संसार छोडेका थिए ।