६ करोड लगानीमा दीवाकरले ‘हनी बनी’ निर्देशन गर्ने



रंगखबर, काठमाडौँ – ‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । शनिबार क्रिसमसको अवसर पारेर भट्टराईले नयाँ फिल्मको टिमअपबारे जानकारी दिएका छन् ।

उनले रोमकोम जनरामा ‘हनी बनी’ निर्देशन गर्न लागेका हुन् । एबी इन्टरनेशनलको व्यानरमा निर्माण हुने फिल्ममा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ ।

एबी इन्टरनेशनलले यसअघि बलिउड अभिनेत्री सन्नी लियोनीलाई फिचर्ड गर्दै फिल्म ‘पासवर्ड’ निर्माण गरेको थियो । उक्त फिल्ममा सन्नीले एउटा आइटम नृत्य पस्केकी थिइन् ।

६ करोड बजेट निर्धारण गरिएको ‘हनी बनी’लाई युकेका बिभिन्न स्थानमा खिचिनेछ । फिल्मले लण्डनमा बसोबास गर्ने दुई पात्रको सम्बन्ध र उतारचढावको कथा भन्नेछ ।

अंकित गौतमको कार्यकारी निर्माण रहने फिल्मको लागि कलाकारहरु भने फाइनल भएका छैनन् । आगामी सातादेखि कास्टिङ कल आव्हान हुने निर्देशक भट्टराईले बताएका छन् । फिल्ममा नयाँ र चर्चित कलाकारको अभिनय रहने बताइएको छ ।

ठुलो क्यानभासमा फिल्म खिच्न रुचाउने दीवाकरको अघिल्लो फिल्म ‘तिमीसँगै हुने मन छ’ कोरोनाका कारण स्थगित भएको थियो । कोरोना मत्थर हुँदै गर्दापनि उक्त फिल्मको छायांकन भने सुरु हुन् सकेको छैन ।

दीवाकरले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्