४ सय करोडमा बनेको ‘आरआरआर’मा कसको पारिश्रमिक कति ?



रंगखबर, काठमाडौँ – तेलुगु फिल्म ‘आरआरआर’ दक्षिण एसियन मुलुकको लागि प्रतिक्षित छ । ‘बाहुबली’ सिरिज निर्देशक एसएस राजामौली निर्देशित फिल्मले बक्सअफिसमा धेरै रेकर्ड राख्ने अनुमान गरिएको छ ।

फिल्मको दमदार ट्रेलरले गर्दा जनवरी ७ को मितिमा दर्शक हल जान तम्तयार छन् । यो फिल्म ४ सय करोड भारुमा निर्माण भएको हो ।

पछिल्लो समय फिल्मका कलाकारहरुले आफ्नो भूमिकाको लागि लिएको पारिश्रमिकको विषयले ‘आरआरआर’को चर्चा अझ चुलिएको छ ।

भारतीय मिडियाहरुका अनुसार फिल्ममा ‘अल्लुरी सितारामा राजु’को भूमिका निर्वाह गरेका सुपरस्टार राम चरणले ४५ करोड भारु पारिश्रमिक लिएका छन् । यस्तै ‘कोमाराम भीम’को भूमिका निर्वाह गरेका जुनियर एनटीआरले पनि ४५ करोड नै पारिश्रमिक पाएका छन् ।

यी त भयो लिड कलाकारहरुको पारिश्रमिक । फिल्ममा सेकेण्ड लिड खेल्ने बलिउड कलाकारहरुले पनि मोटो रकम प्राप्त गरेका छन् ।

बलिउड अभिनेता अजय देवगणले आफ्नो भूमिकाको लागि २५ करोड भारु चार्ज गरेका छन् । यस्तै बलिउड अभिनेत्री आलियाले भट्टले आफ्नो भूमिकाको लागि ९ करोड पारिश्रमिक लिएकी छन् ।

यस्तै फिल्मका निर्मातासमेत रहेका निर्देशक राजामौलीले नाफाको ३० प्रतिशत रकम प्राप्त गर्नेछन् । यो फिल्मले विश्वव्यापी हजार करोड भन्दा माथिको व्यापार गर्ने अनुमान गरिएको छ । यस्तोमा राजामौलीले राम्रो रकम हात पार्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्