‘मीरा’मा नारीको कथा



रंगखबर, काठमाडौँ – नारी प्रधान फिल्म ‘मीरा’ बन्ने भएको छ । यो फिल्मको मंगलबार काठमाडौँको गुहेश्वरी मन्दिरमा शुभमुहुर्त गरिएको छ ।

रोशन कुमारको निर्देशनमा बन्ने फिल्ममा रजिना अर्याल, रमेश क्षेत्री, प्रेम बस्याल, रविना केसी, महेश धामी क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मुख्य कलाकार रमेश क्षेत्री र रजिना अर्याल मुहुर्त शटमा अभिनय गरेका थिए । अभिनेता कृष्ण मल्लद्वारा निर्देशित मुहुर्त शटमा द्वन्द निर्देशक संघका अध्यक्ष नारायण प्रधानले क्यामराको स्विच अन गरेका थिए भने चलचित्रकर्मी राजेश बिसुरालले क्ल्याप गरेका थिए । लेखक सुशिल देवकोटाले नरिवल फुटाएर शुभसाइत शटको थालनी गराएका थिए । त्यसअघि चलचित्रकर्मी सुनिल कटवालले क्यामराको पूजा गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै फिल्मका निर्देशक रोशन कुमारले मीरा नारी प्रधान फिल्म हुने जानकारी दिँदै फिल्मले बलात्कार जस्तो निन्दनीय घटनालाई हतोत्साहित गर्ने कथावस्तु समेटिएको जानकारी गराए ।

द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे ईन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण फिल्ममा गोपाल कार्की र आरोही श्रेष्ठको लगानी रहनेछ ।

प्रेम बस्यालको कथा लिएर निर्माण टिम केहि दिन मै फ्लोरमा निस्किनेछ । नयाँ वर्षलाई निर्माण पक्षले रिलिजको लक्ष्य राखेको छ । फिल्मलाई अमृत पाण्डेले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्