‘गंगुबाई काठियावाडी’ ट्रेलरमा आलिया र विजयराजको तारिफ



रंगखबर, काठमाडौँ – आलिया भट्ट र अजय देवगण स्टारर बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’को ट्रेलर रिलिज गरिएको छ ।

३ मिनेट १५ सेकेण्ड लामो ट्रेलरले फिल्मकी मुख्य पात्र ‘गंगुबाई’को जीवनको कथा भन्छ । ‘गंगुबाई’को भूमिका निर्वाह गरेकी आलियाले दर्शकबाट तारिफ बटुलीरहेकी छन् । उनको दमदार अभिनय, आवाज र हाउभाउले मुख्य पात्रलाई दर्शकसँग जोड्न सफल देखिन्छ ।

संजयलीला भन्सालीद्वारा निर्देशित फिल्ममा आलिया र अजयका अलावा विजयराज, इन्दिरा तिवारी, शंतानु महेश्वरी, वरुण कपूर, जिम सर्भ, सीमा पह्वालगायतका कलाकारहरुको अभिनय छ ।

ट्रेलरमा केहि सिन मात्र देखिएका विजयराजको सबैभन्दा धेरै तारिफ भएको छ । दर्शकले उनलाई ‘राजियाबाई’को भूमिकामा मन पराएका छन् । कतिले त फिल्ममा विजयराजको उपस्थिति दर्शकको लागि सरप्राइज सावित हुने आशय व्यक्त गरेका छन् ।

फेब्रुअरी २५ तारिखमा रिलिज हुने फिल्मले कोरोनाको तेस्रो लहरले ल्याएको सन्नाटालाई चलायमान बनाउने आशा गरिएको छ ।

कथा

यो फिल्म हुसैन जैदीको किताब ‘द माफिया क्विन अफ मुम्बई’मा आधारित रहेर निर्माण गरिएको हो । जहाँ माफिया क्विन गगुबाईको जीवनी प्रस्तुत गरिएको छ ।

गंगुबाईको पुरा नाम गंगा हरजीवनदास काठियावाड़ी हो । गंगुलाई आफ्नै श्रीमानले ५ सय भारुमा बम्बैको कोठीमा बिचिदिएका थिए । गंगु अभिनेत्री बन्ने लक्ष्य बोकेर आफ्ना नवविवाहित श्रीमानसँग बम्बै हानिएकी थिइन् ।

‘द माफिया क्विन अफ मुम्बई’का अनुसार माफिया डन करिम लालाका एक सदस्यले गंगुको बलात्कार गरेका थिए । त्यसपछि गंगुले न्यायका लागि करिम लालालाई भेटेकी थिइन् । त्यसपछि करिमलाई राखी बाँधिदिएर उनले दोस्रो जीवन सुरु गरेकी थिइन् । पछि गएर गंगु मुम्बईकी सबैभन्दा ठुलो महिला डन बनेकी थिइन् ।

फिल्ममा करिम लालाको भूमिका अजय देवगणले निर्वाह गरेका छन् । ‘हम दिल दे चुके सनम’पछि पहिलो पल्ट अजयले भन्सालीको निर्देशनमा काम गरेका हुन् ।

कमाठीपुरा रेड लाइट एरिमामा गंगुले कोठी चलाएर बसेकी थिइन् । उनि कसैको इछ्या बिना कोठीमा युवती भर्ना गर्थिनन । उनि आफ्नो पावर प्रयोग गरेर वेश्यालयको अधिकारका निमित्त लड्ने गर्थिन ।

प्रतिक्रिया दिनुहोस्