अनमोलले साइन गरे दीवाकरको ‘हनी बनी’



रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसीले नयाँ फिल्म साइन गरेका छन् । उनले दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’ साइन गरेका हुन् ।

दीवाकर र अनमोलको यो तेस्रो सहकार्य हो । यसअघि अनमोलले दीवाकरको निर्देशनमा ‘क्याप्टेन’ र सह-निर्देशनमा ‘ड्रिम्स’मा अभिनय गरिसकेका छन् ।

अभिनेत्री खोजिरहेको ‘हनी बनी’को छायांकन मार्चदेखि लण्डनमा सुरु हुनेछ । एबी इन्टरनेशनलको व्यानरमा निर्माण हुने यस लभस्टोरी फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ ।

‘एक्स ९’ तत्काललाई रोकियो 
‘हनी बनी’ साइन गर्नु अगाडी अनमोलले फिल्म ‘एक्स ९’को लागि तयारी गरिरहेका थिए । यो फिल्मका लागि उनले जुँगा पालेर तौलसम्म बढाएका थिए ।

तर, मेगा बजेटमा निर्माण हुने भनिएको ‘एक्स ९’को छायांकन सुरु हुन सकेन । स्रोतका अनुसार यो फिल्मका लागि लगानी जुटाउने काम भैरहेको छ ।

निर्देशक मुकुन्द भट्टले १० करोड लगानी जुटेपछि छायांकनमा जाने बताएका छन् । ‘एक्स ९’ छायांकनमा जान समय लाग्ने भएपछी अनमोलले ‘हनी बनी’ गर्ने योजना बनाएका हुन् ।

‘एक्स ९’मा अनमोलसँगै पुष्प खड्का, सौगात मल्ल, अनुपविक्रम शाही, राज कटुवाल कलाकारको रुपमा फाइनल भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्