प्रचारमा ‘म यस्तो गीत गाउँछु २’को नयाँ तरिका



रंगखबर, काठमाडौँ – फागुन १३ मा रिलिज हुने फिल्म ‘म यस्तो गीत गाउँछु २’ले प्रचारमा नयाँ तरिका अपनाएको छ । प्रचारका लागि तयार पारिएको थारु गीत निर्माण पक्षले सार्वजनिक गरेको छ ।

यदि कोरोना नहुँदो हो त्, दुई वर्ष अगाडी नै फिल्म प्रदर्शनमा आइसक्थ्यो । पुरा प्रचार-प्रसार गरेर रिलिजको मुख मै पोस्टपोन्ड गर्नु पर्दा निर्माण पक्षले ठुलो घाटा बेहोर्यो ।

प्रचारका लागि तयार पारिएका ट्रेलर र गीत दुई वर्ष अगाडी नै सार्वजनिक भएकाले निर्माण पक्षले नयाँ तरिका अपनाउदै केहि भाषामा फिल्मको प्रमोसनल गीत तयार पारेको हो ।

सार्वजनिक गरिएको थारु गीतमा ‘म यस्तो गीत गाउँछु २’ हेर्न फागुन १३ मा हल पुगौँ भन्ने खालको सुचना प्रवाह गरिएको छ ।

नरेश योगीको शब्द र संगीत रहेको गीतमा नरेश र मधु चौधरीले आवाज दिएका छन् ।

विक्रम चौहानले कोरियोग्राफी गरेको गीतमा फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्मा फिचर्ड छन् । उनिहरु थारु पहिरणमा सजिएका छन् ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्