छायांकन अगाडी नै चर्चामा ‘हनी बनी’, अनमोल र साराको जोडी फाइनल



रंगखबर, काठमाडौँ – गएको क्रिसमसको अवसरमा निर्देशक दीवाकर भट्टराईले फिल्म ‘हनी बनी’ घोषणा गरे । ६ करोड बजेट अनुमान गरिएको फिल्मले घोषणा हुन बितिकै चर्चा बटुल्यो ।

तस्विर: अनमोल र साराको इन्स्टाग्रामबाट

त्यसयता यो फिल्म लगातार चर्चामा छ । प्रचारलाई मध्येनजर गर्दै निर्माण पक्षले लिड कलाकारको पोको बिस्तारै खुलाउदै गयो । फिल्ममा मुख्य कलाकारको रुपमा अभिनेता अनमोल केसी अनुबन्धित भए ।

मुकुन्द भट्टले निर्देशन गर्ने ‘एक्स ९’ रोकेर अनमोल ‘हनी बनी’मा आवद्ध हुँदा फिल्मले चर्चा पायो । त्यसपछि सलोन बस्नेत कलाकारहरुको रुपमा फाइनल भए । अनमोल र सलोनको पाँचौं सहकार्यले झन चर्चा चुलियो ।

केहि दिन अगाडी मात्रै दशैँमा रिलिज घोषणा गरेको फिल्म पुन: चर्चामा छ । कारण फिल्ममा लिड अभिनेत्रीको रुपमा सारा सिर्पाली भित्रिएकी छन् ।

कुनै समय अनमोलसँग प्रेममा रहेको कुराले चर्चामा रहेकी सारा अन्तत: अनमोल कै जोडी बनेर पर्दामा देखिनेछिन । अनमोल र साराले पहिलो पटक सहकार्य गर्ने भएपछि ‘हनी बनी’ प्रतिक्षित बनेको छ ।

अनमोलले डेब्यु ‘होस्टेल’देखि छैटौँ फिल्म ‘क्याप्टेन’सम्म लगातार फरक अभिनेत्रीसँग काम गरे । तर, ‘ए मेरो हजुर’को दुई शृंखलामा भने अनमोल अभिनेत्री सुहाना थापासँग जोडी भएर देखिए ।

होम प्रोडक्सनको ‘एन्टी हिरो’मा जसिता गुरुङ भित्रिएपछि अनमोलको फेरि नयाँ अभिनेत्रीसँगको सहकार्य सुरु भएको छ । अब हेर्न बाँकी छ, सुहानासँग जसरी अनमोलले जसिता र सारासँग दोहर्याएर काम गर्लान ?

निखिल उप्रेतीको ‘रुद्र’बाट नेपाली फिल्ममा डेब्यु गरेकी सारा सम्भावना बोकेकी अभिनेत्रीको रुपमा चिनिन्छिन । साराका ‘पिंजडा ब्याक अगेन’ र ‘सुश्री सम्पति’ रिलिज भैसकेका फिल्म हुन् ।

अभिनेता प्रितमराज सेन्चुरीसँगको फिल्म ‘गुञ्जन’, साराको प्रदर्शन हुन् बाँकी फिल्म हो ।

एबी इन्टरनेशनलको व्यानरमा निर्माण हुने ‘हनी बनी’मा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ ।

मार्चदेखि फ्लोरमा जाने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्