सहरसँग नाता जोड्दा अस्तित्व गुमाउनेहरुको कथा: ‘चिसो एष्ट्रे’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – होलीको अवसरमा चैत ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘चिसो एष्ट्रे’को ट्रेलर रिलिज गरिएको छ ।

बुधबार राजधानीमा एक प्रेसमिटका बीच यस सोसियल ड्रामाको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा मुख्य पात्रहरु बीचको काठमाडौँमा गरिने संघर्ष देखाइएको छ ।

गाउँबाट सुनौलो भविष्य खेज्दै सहर पस्ने र सहरको लतमा फस्ने युवाहरुको कथा फिल्मले भन्छ । ट्रेलरमा एक पात्रले बोल्ने संवाद छ, ‘एकै नजरमा सहरसँग माया त बस्यो । तर सहरको आँखा लाग्ला भन्ने कुरा मलाई के थाहा ?’ यो संवादले फिल्मको केन्द्रिय कथा प्रष्ट्याउछ ।

कवि भूपी शेरचनले काठमाडौँ सहरलाई ‘चिसो एष्ट्रे’ विम्बको रुपमा प्रस्तुत गरेका थिए । आफुपनि त्यहि विम्बबाट प्रभावित भएर ‘चिसो एस्ट्रे’ निर्देशन गरेको निर्देशक दिनेश पाल्पालीले जानकारी दिए ।

निर्देशक पाल्पालीको लेखन रहेको फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । फिल्ममा प्रविन स्याङ्बा र सुस्मिता पराजुलीको सहलगानी छ ।

उज्जल बस्ताकोटीले खिचेको फिल्ममा अजर जंगमको संगीत, निर्देशक पाल्पालीको लेखन र उज्जवल ढकालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्