हलमा दर्शकको चाप, महाशिवरात्री विदाको असर बक्सअफिसमा



रंगखबर, काठमाडौँ – मंगलबार महाशिवरात्रीको दिन नेपाली बक्सअफिसमा दर्शकको भिड देखिएको छ । अहिले  हलमा नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’सहित तीन विदेशी फिल्म प्रदर्शन भैरहेका छन् ।

कोरोनाको तेस्रो लहरपछि खुलेका हलमा त्यसयताकै बढी दर्शक संख्या देखिएको हो ।

वर्षकै उत्कृष्ट व्यापार गर्न सफल ‘म यस्तो गीत गाउँछु २’

अघिल्लो वर्ष जस्तै यो वर्षपनि कोरोनाले फिल्मलाई असर गरेपनि केहि नेपाली फिल्मले भने हलसम्म दर्शक तान्न सफल भए ।

तेस्रो लहर अगाडी प्रदर्शन भएको ‘कठपुतली’ले केहि आशा देखाएको थियो । ‘म यस्तो गीत गाउँछु २’को व्यापारले उत्साह छरिदिएको छ ।

निर्माण पक्षले गराएको जानकारी अनुसार फिल्मले पहिलो विकेन्डमा १ करोड ८० लाख ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको पहिलो दिन ७० लाख ग्रस कमाएको फिल्मले साताको अन्तिम दिन १ करोड १० लाखको कलेक्सन गर्न सफल भयो ।

आइतबार र सोमबार व्यापारमा गिरावट आएपनि महाशिवरात्रीको दिन भने ग्राफ उकालो लागेको छ ।

महाशिवरात्री विदामा सिंगलदेखि मल्टीप्लेक्स हाउसफुल देखिएका छन् ।

क्युएफएक्सको दमौली स्टेशनपनि हाउसफुल 

QFX Damauli & QFX Nepalgunj stations

केहि समय अगाडी मात्रै दमौलीमा खुलेको क्युएफएक्सको नयाँ स्टेशनसमेत ‘म यस्तो गीत गाउँछु २’का दर्शकले हाउसफुल बनेको छ ।

क्युएफएक्सका स्टेशनहरुमा दमौली कमजोर मानिन्छ । यो स्टेशन हाउसफुल भएको खास्सै देखिदैन ।

फिल्मका अभिनेता पल शाह विरुद्धको मुद्धा तनहुँ, दमौलीमा दर्ता भएका कारण त्यसको असर प्रदर्शनरत फिल्ममा देखिएको हो ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा पलका अलावा पूजा शर्माको मुख्य भूमिका छ ।

विदेशी फिल्ममा पनि ओइरिए दर्शक 

सुरुवाती दिनदेखि नै बक्सअफिसमा राम्रो व्यापार गरिरहेको बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ले पनि महशिवरात्रीमा उत्कृष्ट व्यापार गर्न सफल भएको छ ।

विशेषगरि मल्टीप्लेक्स तर्फ फिल्मका अधिकाँस शो हाउसफुल देखिएका छन् ।

तामिल फिल्म ‘वालिमाइ’ र हलिउड ‘अनचार्टेड’ले पनि मंगलबार राम्रो व्यापार गरेका छन् । सुरुवाती दिनमा भने ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई काठियावाडी’ यी फिल्मको व्यापारमा भारी परेका थिए ।

प्रतिक्रिया दिनुहोस्