चार वर्षको अन्तरालपछि पर्दामा झुल्किदै खगेन्द्र



रंगखबर, काठमाडौँ – अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको डेब्यु निर्देशन ‘पानीफोटो’को रिलिज डेट तय गरिएको छ ।

निर्माण कम्पनि टुकी आर्टसले यो फिल्म आगामी वर्षको भदौ १० मा रिलिज गर्ने निर्णय गरेको हो । निर्माणमा टुकीसँग मन्जुश्री फिल्म प्रोडक्सनले सहकार्य गरेको छ ।

माओवादी जनयुद्धको समयमा डेढ दशकदेखि बेपत्ता छोराको पर्खाइमा रहेका बा-आमाको कथा भन्ने फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महतलगायतका कलाकारहरुको अभिनय छ ।

करिब दशक अगाडी मन्चन भएको चर्चित नाटक ‘पानीफोटो’लाई खगेन्द्रले फिचर फिल्मको रुप दिएका हुन् । मन्चनहुँदा ताका नै खगेन्द्र आफैले यो कथामा फिल्म बनाउनेबारे सोचेको बताए ।

काठमाडौँ, बर्दिया, स्याङ्गजा र रोल्पामा छायांकन गरिएको यस फिल्ममा पुष्पा संगमको पार्श्वसंगीत, दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठ/अर्जुन कार्कीको सम्पादन छ ।

फिल्ममा रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा लगानी गरेका छन् ।

अभिनेता लामिछाने झन्डै ४ वर्षको अन्तरालपछि दर्शक माँझ आउन लागेका हुन् । उनि अभिनित पछिल्लो फिल्म ‘जय भोले’ वि:स. २०७५ सालको असोज अन्तिममा रिलिज भएको थियो ।

खगेन्द्रले यसअघि अभिनय गरेका ‘बधशाला’, ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘डमरुको डण्डीबियो’ दर्शक माँझ नोटिस भएका फिल्म हुन् ।

प्रतिक्रिया दिनुहोस्