‘लप्पन छप्पन २’ले मेरो करिअरमा केहि होला भन्ने आश गरेको छु – शिव श्रेष्ठ



रंगखबर, काठमाडौँ – भेट्रान अभिनेता शिव श्रेष्ठले आफ्नो लागि फिल्म ‘लप्पन छप्पन २’ विशेष हुने बताएका छन् । उनले मिडियासँग कुरा गर्दै यो फिल्म आफ्नो लागि केहि विशेष रहेको बताएका हुन् ।

‘चालिस वर्षको करिअरमा मैले जुन भूमिका ‘लप्पन छप्पन २’मा पाएको छु, मलाई एकदमै मन परेको छ यो भूमिका । यसको लागि धन्यवादको पात्र हाम्रो निर्देशक जी हुनुहुन्छ । उहाँले जुन किसिमले मिहेनत गर्नु भएको छ । यति धेरै कलाकार लिएर फिल्म बनाउन सजिलो छैन ।’

शिवले अगाडी थपे, ‘यत्रो ठुलो ठुलो कलाकारहरुसँग म पनि मिसिन पाएको छु । मलाई लाग्छ यसपटक मलाई केहि होला कि ? मैले आश गरेको छु र त्यो आश पुरा हुँदैछ ।’

शिवले मिडिया सामु आफुले पाएको भूमिकाको तारिफ गरिरहँदा आफ्नो भूमिकाबारे भने खुलाउन चाहेनन् । ‘मेरो भूमिकाको बारेमा निर्देशक जीले नबोल्नु भन्नु भएको छ ।’ फिल्म हलमा आफ्नो भूमिका सरप्राइज सावित हुने उनले बताए ।

फागुन २० देखि अलनेपाल रिलिज हुन लागेको यस फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।

फिल्ममा शिवका अलावा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय छ ।

पुरुषोत्तम प्रधानले खिचेको यस फिल्ममा निर्देशक भट्ट, सुनिल नेउरे, अमित शर्मा र विवेक पाण्डेको स्क्रिप्ट रहेको छ । यस्तै संवादमा सुनिल नेउरे र निर्देशक भट्टले काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्