मल्टीप्लेक्समा ‘लप्पन छप्पन २’को बुकिङ खुल्यो, कति पायो शो ?



रंगखबर, काठमाडौँ – भोली शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन २’को लागि मल्टीप्लेक्समा बुकिङ खुल्ला गरिएको छ ।

यो शुक्रबार ‘लप्पन छप्पन २’सँगै हलिउड फिल्म ‘द ब्याटम्यान’ले नेपाली बक्सअफिसमा डेब्यु गर्नेछन । साथै, अघिल्लो साता रिलिज भएका ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियावाडी’को दवदवा कायमै छ ।

देशका नाम चलेका ९ ओटा मल्टीप्लेक्सले शुक्रबारको लागि टोटल १६८ शो निकालेका छन् । अघिल्लो साताको भन्दा यो मात्र १ शो बढी हो ।

‘लप्पन छप्पन २’लाई सन्तोषजनक शो 

मुकुन्द भट्ट निर्देशित फिल्मले बिहिबार आयोजित प्रिमियरबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ । मध्यम हाइपका साथ प्रदर्शनमा आउन लागेको फिल्मको प्राप्त शोलाई सन्तोषजनक मान्न सकिन्छ ।

फिल्मले २२.०२ प्रतिशत शोका साथ प्रदर्शन आरम्भ गर्नेछ । प्राप्त शोको आधारमा यो तेस्रो नम्बरमा छ ।

क्युएफएक्सले आफ्नो ९ ओटा स्टेशनमा १६ शो निकालेको छ । बिग मुभिजले सर्वाधिक ५ शो निकाल्दा एफक्युब, बिएसआर, सिडिसी र वान सिनेमाजले समान ३/३ शो छुट्याएका छन् ।

यस्तै आइएनआइ सिनेमाजले २ शो दिंदा किर्तिपुर सिनेप्लेक्स र क्युजले जम्मा १/१ शो दिएका छन् ।

यस एक्सन थ्रिलर फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाहीलगायतका कलाकारहरुको अभिनय छ ।

‘द ब्याटम्यान’ नम्बर १ मा, ‘म यस्तो गीत गाउँछु २’ दवदवा कायमै 

हलिउड फिल्म ‘द ब्याटम्यान’ ३५.११ प्रतिशत शोका साथ पहिलो नम्बरमा छ । अघिल्लो साता रिलिज भएको ‘म यस्तो गीत गाउँछु २’ले २२.६१ प्रतिशत शो कब्जा गरेको छ ।

पहिलो साता फिल्मले ३०.५३ प्रतिशत शोसहित प्रदर्शन सुरु गरेको थियो ।

यस्तै बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ले पनि दोस्रो सातामा आफ्नो पकड जमाएको छ । पहिलो साता ३२.९३ प्रतिशत शोबाट प्रदर्शन आरम्भ गरेको फिल्म १९.६४ प्रतिशतमा झरेको छ ।

तामिल फिल्म ‘वलिमाइ’ २०.३५ बाट सिधै ०.५९ प्रतिशतमा खुम्चेको छ । अघिल्लो साता रिलिज भएको हलिउड फिल्म ‘अनचार्टेड’ भने नेपाली बक्सअफिसबाट उत्रिएको छ ।

(यो तथ्यांकमा क्युएफएक्स, बिग मुभिज, सिडिसी, बिएसआर, आइएनआइ लोत्से, किर्तिपुर सिनेप्लेक्स, क्युज सिनेमाज, वान सिनेमाज र एफक्युब हल मात्र समावेश छन्)

प्रतिक्रिया दिनुहोस्