तीन फिल्मसँग प्रतिस्पर्धा गर्दै ‘लप्पन छप्पन २’को प्रदर्शन आरम्भ



रंगखबर, काठमाडौँ – कोरोनाले २ वर्ष थलिएको फिल्म क्षेत्र बिस्तारै जुर्मुराउन थालेको छ । कोरोनाका कारण रिलिज हुन् नपाएका फिल्महरु लगातार प्रदर्शनमा आउन थालेका छन् ।

हल खुल्दा दुई वर्षदेखि थन्किएका फिल्मले रिलिजको मौका त पाए । तर, फिल्म रिलिज हुँदापनि निर्मातालाई सहज परिस्थिति भने देखा परेन ।

कोरोनाले नेपाल मात्र नभएर विश्वव्यापी रुपमा फिल्म रिलिज रोकिएकाले बक्सअफिसमा २ देखि ४ ओटासम्म फिल्म भिड्नु पर्ने अवस्था आएको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘लप्पन छप्पन २’ले बक्सअफिसमा तीन ठुला फिल्मसँग प्रतिस्पर्धा गर्दै प्रदर्शन आरम्भ गरेको छ ।

अघिल्लो साता रिलिज भएका ‘गंगुबाई काठियावाडी’ र ‘म यस्तो गीत गाउँछु २’सहित फ्रेस रिलिज ‘द ब्याटम्यान’ले अहिले ‘लप्पन छप्पन २’सँग बक्सअफिस प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रिमियरमा सकारात्मक प्रतिक्रिया बटुलेको भएर ‘लप्पन छप्पन २’ निर्माण पक्ष ‘माउथ पब्लिसिटी’ले भएपनि दर्शक हलसम्म आउने विश्वास लिएको छ ।

यो साताको हल र शो बाँडफाँड मै कडा प्रतिस्पर्धा गरेको फिल्मले दर्शक जमातलाई आफु तर्फ तान्न कत्तिको सफल हुन्छ ? नतिजाको लागि एक साता पर्खिनुको विकल्प छैन ।

 

मुकुन्द भट्टले निर्देशन गरेको एक्सन थ्रिलर ‘लप्पन छप्पन २’मा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, गोविन्द शाही, प्रकाश कुँवर, स्वर्गीय दीपक क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।

यहि फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्