‘चिसो एष्ट्रे’ बन्न ७ वर्ष लाग्यो, ११ पटक स्क्रिप्ट सम्पादन गर्यौं – महेशबाबु तिमल्सिना



वि:सं. २०७१ सालमा एक जना व्यक्तिसँग मेरो भेट भयो । ति व्यक्ति थिए, दिनेश पाल्पाली । उहाँसँग एउटा कथा छ भन्ने कुरा मलाई कसैले भनेको थियो ।

म पहिलेदेखि नै साहित्यमा रुचि राख्ने व्यक्ति । दिन्शसँग ‘चिसो एष्ट्रे’को स्क्रिप्ट छ भन्ने थाहा पाएपछि म आफै उहाँलाई खोज्दै हिँडेको थिएँ ।

उहाँ खास्सै नबोल्ने मान्छे । सुरुमा अप्ठेरो भएपनि धेरै अनुरोध गरेपछि उहाँले मलाई स्क्रिप्ट दिनु भयो ।

साहित्यलाई फिल्ममा उतारेको नेपालमा त्यति उदाहरण छैनन । त्यसैले पनि ‘चिसो एष्ट्रे’को स्क्रिप्ट च्यालेञ्ज र अवसर दुवै जस्तो लाग्यो ।

स्क्रिप्ट हेर्दा कठिन पनि लाग्यो । अनि मैले निर्देशकलाई सोधे, ‘उपन्यास जस्तो लेखेको मात्रै होकी पर्दामा पनि उतार्न सक्नु हुन्छ ?’

उहाँले अस्कर फिल्म कलेजबाट उत्रिन्न भएका विद्यार्थीहरु, पढेर फिल्म बुझेका टेक्निसियनहरुको टिमअप गर्ने योजना सुनाउनु भयो । स्क्रिप्टलाई फिल्ममा ढाल्न सक्ने विश्वास दिलाउनु भयो । त्यसपछि मैले लगानी गर्ने निर्णय गरें ।

२०७२ को भुकम्पले धकेलियो छायांकन

हामीले २०७२ सालको जेठको दोस्रो साताबाट छायांकनमा जानलाई सम्पूर्ण तयारी गरिसकेका थियौँ । एक वर्षको अवधि मै हामीले ११ पटक जति स्क्रिप्ट सम्पादन गरेका थियौँ । कवी भूपी शेरचनले, ‘केहि लेख्छु फेरि च्यात्छु’ भने जस्तै हाम्रो दिनेश जीले पनि स्क्रिप्टमा असन्तुष्टि जनाउदा ११ पटकसम्म लेख्ने र च्यात्ने काम भयो ।

स्क्रिप्ट लक गरेर लगभग प्रि-प्रोडक्सनको काम सकिएको थियो । १२ गते आएको भुकम्पले ‘चिसो एष्ट्रे’को काम रोकियो । वर्षैभरि भुकम्पको असर रहेकाले तत्काललाई हामी केहि नगर्ने निर्णयमा पुग्यौँ ।

‘चिसो एष्ट्रे’का प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना र निर्देशक दिनेश पाल्पाली

दुई वर्षपछि छायांकन

भुकम्प गएको दुई वर्षपछि सन् २०१७ मा फिल्मको छायांकन सुरु गर्यौँ । छायांकनमा १ सय २३ दिन लाग्यो । फिल्ममा १ सय २३ ओटा नै दृश्यहरु छन्, यसलाई एउटा संयोग नै मान्न सकिन्छ । त्यसमा हामीले धेरै नै मोन्टाजहरु खिचेका थियौँ ।

हाम्रो फिल्मले दुई वर्षको यामलाई कभर गरेको छ । मौसमको लागि हामीले समझौता गरेनौं । पानीको लागि वर्षा पर्खियौं । चिसोको लागि हिउँदसम्म पुग्यौँ । दृश्यलाई रियल बनाउन खोज्दा झन्डै दुई वर्षको समय लाग्यो ।

मिलन राईले सिर्जना गर्नु भएको ‘सेतो पुतली’को १५ हजार संख्या हामीले फिल्ममा प्रयोग गरेका छौँ । काठमाडौँ सहरभरि ‘सेतो पुतली’ टाँस्दै शान्तिको संदेश छर्ने उहाँको मुभमेन्टलाई पनि फिल्ममा समावेश गरेका छौँ ।

त्यसैले अलि बढी समय लाग्यो । फिल्मपनि खर्चिलो बन्यो ।

कोरोनाले धकेलियो रिलिज

अन्तत: दुई वर्षको छायांकनपछि फिल्म तयार भयो । वि:सं. २०७७ साल जेठ १६ गते रिलिज गर्ने घोषणा गर्यौँ । तर, दुर्भाग्यबस कोरोनाको कारण हामि पछाडी धकेलिनु पर्यो ।

अब भने आउँदो चैत ४ गतेदेखि भने अलनेपाल प्रदर्शनमा ल्याउदै छौँ ।

महेशबाबु तिमल्सिना विगत २० वर्षदेखि शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तित्व हुन् । फिल्ममा उनले पहिलो पटक लगानी गरेका हुन् ।

भिन्न कन्टेन्ट र विषयबस्तुमा आधारित फिल्म हेर्न रुचाउने महेशबाबुले ‘चिसो एष्ट्रे’पनि फरक प्रकृतिका फिल्म हेर्न रुचाउने दर्शकका लागि तयार भएको बताए ।

‘चलिरहेको ट्रेन्ड भन्दा अलि पर रहेर यो फिल्म निर्माण भएको छ । भूपी शेरचनको कवितालाई निर्देशकले पर्दामा उतार्नु भएको छ । मेरो व्यक्तिगत धारणामा फिल्म उत्कृष्ट बनेको छ । आशा छ, समिक्षकहरुले पनि फिल्मको गहिराइमा पुगेर मुल्यांकन गरिदिनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्