‘हिजो आजका कुरा’ दशैँ-तिहारको बीचमा रिलिज हुने



रंगखबर, काठमाडौँ – कोरोना महामारीका कारण समय मै प्रदर्शन हुन् नपाएको फिल्म ‘हिजो आजका कुरा’ले नयाँ रिलिज डेट छनोट गरेको छ ।

अब यो फिल्म २०७९ को असोज २८ देखि सार्वजनिक प्रदर्शनमा आउनेछ । यसअघि २०७७ को बैशाख १२ लाई प्रदर्शन मिति तोकेपनि कोरोनाका कारण फिल्म रिलिज हुन पाएको थिएन ।

साकार पन्तको डेब्यु निर्देशन ‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्य देव, साकार पन्त, रीमा विश्वकर्मा, स्व. जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारीलगायतका कलाकारहरुको अभिनय छ ।

सफलता पुर्वक १८ वर्ष प्रशारण भएको धारावाहिक टेलीसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिंदै कलाकार सन्तोष पन्तले ठुलोपर्दाको लागि यो फिल्म तयार पारेका हुन् ।

कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथा फिल्मले बोकेको छ ।

रवि सायमीले खिचेको फिल्ममा दीपक शर्मा/हर्कुलस बस्नेतको संगीत र विनय कंसाकारको सम्पादन छ ।

प्रतिभा पन्तको कार्यकारी निर्माण रहेको फिल्ममा सन्तोष पन्त र साकार पन्तको लगानी छ ।

फिल्ममा समावेश ‘माया जदौ’ बोलको गीत चार्टबस्टरमा हिट भैसकेको छ । दुई वर्ष अगाडी रिलिज भएको गीतले २ करोड ५० लाख भ्युज बटुलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्