करोड भ्युज पुगेपछि प्रकाशले हटाए ‘पिर’, सम्पादित भिडियो अपलोड



रंगखबर, काठमाडौँ – एक साता मै करोड भ्युजको रेकर्ड राखेको गीत ‘पिर’ युट्युबबाट हटेको छ । गीतका सर्जक प्रकाश सपुतले जुन दृश्यले विवाद र बहस सिर्जना गर्यो त्यहि दृश्य सम्पादन गर्दै गीत ‘रि-अपलोड’ गरेका हुन् ।

हटाइएको दृश्य

गीतको नयाँ भिडियोमा यौनकर्मी लडाकुको दृश्य समावेश छैन । खाली ठाउँ भर्न सपुतले अन्य मोन्टाजहरु समावेश गरेका छन् ।

आफ्नो युट्युब च्यानलको कम्युनिटीमा लामो पोस्ट गर्दै गायक सपुत लेख्छन, ‘सर्वाधिक लाईक र कमेन्टसहित १७ दिनमा ‘गलबन्दी’, १५ दिनमा ‘कुरा बुझ्नपर्छ’ र ७ दिनमा ‘पिर’ करोड पटक हेरिएको छ। हाम्रो प्रयासको ईतिहास र तपाईको प्रेमको ईतिहास निरन्तर दोहोरीएको छ। एउटा सर्जक र उसको टिमका लागी र समग्र व्यावसायिक सङ्गीत बजारका लागी यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु। यधपि तपाइँको अमुल्य शुभेच्छा मेरो लागी असामान्य छ। मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु। रेकर्डहरु बनाएको छु। सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन। कहिले काहिँ त लाग्छ ! भयो अब ! पुग्यो । I’m done !’

खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ । सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकश्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने रहेछ कि जस्तो महशुस गराएको छ । सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ। यधपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ। भैईरहोस।

जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्यले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदियो । Unofficial रुपमा त पुरानो भिडियो Save होलान । अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरिएला (नगर्न अनुरोध) तर लाखौ सब्सक्राईब भएको Pakash Saput official YouTube मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो । नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो । त्यसैले कुनै दबाब/प्रभावले नभएर यो बिचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव, लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि-अपलोड गरिएको छ।

साथै सात दिनसम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको, एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु । केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु तर गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु…’

सम्पादित भिडियो:-

प्रतिक्रिया दिनुहोस्