पिरामिड शैलीमा अघि बढ्दै ‘द कश्मिर फाइल्स’को व्यापार



रंगखबर, काठमाडौँ – बलिउड फिल्म ‘द कश्मिर फाइल्स’ घरेलु बक्सअफिसमा रोकिने छाँटकाँटमा छैन । बलियो माउथ पब्लिसिटीले फिल्मको व्यापार दिन प्रतिदिन उकालो लागिरहेको छ ।

२० करोडको बजेटमा निर्माण भएको फिल्मले ९ दिनमा १४१.२५ करोडको व्यापार गरिरहेको छ । रिलिजको नवौं दिनमा फिल्मले २४.८० करोडको व्यापार गरेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गरेका छन् ।

फिल्मले आठौँ दिन अर्थात दोस्रो शुक्रबार १९.१५ करोड कमाएको थियो । आइतबार यो फिल्मले २८ देखि ३० करोड बीचको हारहारीमा व्यापार गर्ने अनुमान गरिएको छ ।

विवेक अग्निहोत्री निर्देशित फिल्मले पहिलो साता ९७.३० करोड कमाएको थियो । फिल्मले लाइफटाइम २ सय ५० करोड भन्दा माथिको व्यापार गर्ने अनुमान गरिएको छ ।

सन् १९९० मा कश्मीरबाट पलायन भएका कश्मीरी पण्डितहरुको कथामा निर्मित फिल्ममा मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशीजस्ता कलाकारहरुको मुख्य भूमिका छ ।

बक्सअफिसमा सबै जस्तो फिल्मको सुरुवाती व्यापार राम्रो हुने गर्दछ । विकेन्डसम्म व्यापार उकालो लागेपनि प्राय: फिल्म विकडेजमा कमजोर बन्दै जान्छन । पहिलो साता भन्दा दोस्रो साताको व्यापार कमजोर देखिन्छ । उल्टो पिरामिड शैलीमा देखिने बक्सअफिस व्यापार ‘द कश्मिर फाइल्स’को लागि भने सुल्टो सावित भएको छ ।

सुल्टो पिरामिड शैलीमा ‘द कश्मिर फाइल्स’ बक्सअफिस

पहिलो दिन: ३.५५ करोड
दोस्रो दिन: ८.५० करोड
तेस्रो दिन: १५.१० करोड
चौथों दिन: १५.०५ करोड
पाँचौं दिन: १८ करोड
छैटौं दिन: १९.०५ करोड
सातौं दिन: १८.०५ करोड
आठौं दिन: १९.१५ करोड
नवौं दिन: २४.८० करोड

प्रतिक्रिया दिनुहोस्