रंगखबर, काठमाडौँ – निर्देशक एभरेष्ट सुर्य बोहरा यतिबेला आफु निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ प्रचारको दौडधुपमा छन् । चैत १८ अर्थात भोलि शुक्रबारबाट रिलिज हुने फिल्मलाई लिएर बोहरालाई सहज भने देखिएको छैन ।
विशेषत: फिल्म कै मुख्य कलाकार प्रियंका कार्की र दीपिका प्रशाईले प्रचारमा कुनै सहयोग गरेका छैनन् । यी दुई अभिनेत्रीहरु कलाकारको लाइनअपमा छन् । निर्माण पक्षले पोस्टरदेखि ट्रेलरसम्म प्रियंका र दीपिकालाई केन्द्रमा राख्यो ।
तर, उनिहरुले नै फिल्मलाई केन्द्रमा राख्न कुनै पहल गरेनन् । प्रियंका र दीपिकाको यो कदमले निर्मातालाई चित्त दुखेको छ । त्यसैले निर्देशक बोहराले बारम्बार मिडियासँग प्रियंका र दीपिकाको स्पष्टीकरण दिइरहनु परेको छ ।
बुधबार आयोजित एक प्रेस भेटघाटमा सुर्यले भने, ‘ बिहानदेखि बेलुकासम्म मिडियाकर्मीलाई मैले प्रियंका र दीपिकाको बारेमा जवाफ दिएर हिंडीरहेको छु । अब प्रचारमा को हुनुहुन्न भन्ने कुरामा दु:खी हुन छोडिसक्यौँ । को हुनुहुन्छ अब त्यो कुरामा खुसि छौँ ।’
उक्त प्रेसमिटमा फिल्मका दुई अभिनेत्री उपस्थित नभएपनि हास्यकलाकारद्वय सन्दीप क्षेत्री र रविन्द्र झा निर्देशक बोहराको घाउमा मल्हम लगाउन उपस्थित भएका थिए ।
बेला-बेलामा सन्दीपले कमेडी पन्च दिएर प्रेसमिटमा प्रियंका र दीपिका भुलाउने काम गरिरहेका थिए । प्रियंका र दीपिकाको कदम सन्दीपलाई पनि सह्य भएको रहेनछ ।
‘आफुले खेलेको चलचित्रबाट कोहि एक्ससाइटेड हुँदैन भने उहाँहरु कलाकार नै होइन । उहाँहरुलाई पनि मनमा कौतुहलता हुन्छ । शुक्रबार लाग्दैछ, लौन के भयो होला भन्ने हुन्छ ।’ सन्दीपले घुमाउरो शैलीमा प्रियंका र दीपिकालाई कटाक्ष गरे ।
लण्डनमा बस्ने नेपालीको एक सत्यकथामा आधरित भएर निर्माण गरिएको ‘हेल्लो जिन्दगी’मा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रशाई, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, ध्रुव दत्त, सविता गुरुङ, एभरेष्ट सुर्य बोहरालगायतका कलाकारहरुको अभिनय छ ।
निर्मातासमेत रहेका फिल्मका मुख्य कलाकार विक्रमले आफुहरुले एउटा राम्रो कथा राम्रो फिल्म बनाएको दावी गरे । फिल्मले दर्शकलाई हेरुञ्जेल मज्जाले बाँध्न सक्ने उनले बताए ।
नेपाल र बेलायतमा छायांकन गरिएको फिल्ममा पुरुषोत्तम प्रधान/अल्बर्ट प्रसादको छायांकन, सम्राट बस्नेतको द्वन्द्व र मित्र डि. गुरुङको सम्पादन छ ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा विक्रम डि जोशी र हिराल जोशीको निर्माण छ ।
सिर्जना महर्जन जोशीको कार्यकारी निर्माता रहेको फिल्ममा सविता गुरुङको सहलगानी छ ।