‘AMH4’ vs ‘KGF2’: झरनाको प्रश्न, ‘हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बाँकी राख्ला त ?



रंगखबर, काठमाडौँ – साउथ इण्डियन फिल्महरुले नेपाली बक्सअफिसमा आफ्नो प्रभुत्व जमाउन थालेपछि अहिले नेपाली फिल्म क्षेत्र झस्किएको छ ।

बैशाख १ मा रिलिज हुने ‘ए मेरो हजुर ४’ र ‘केजिएफ: च्याप्टर २’को प्रतिस्पर्धाले यो विषयमना बहस सिर्जना गरिदिएको छ । अहिले सामाजिक संजाल पक्ष र विपक्षमा पोतिएका छन् । कतिले राष्ट्रिय फिल्मलाई प्राथमिकता दिइनु पर्ने आवाज उठाइरहेका छन् । कति भने ‘कला’माथिको हस्तक्षेपको विरुद्धमा बोलेका छन् ।

यसै बीच ‘ए मेरो हजुर ४’को टिमले फेसबुकमा स्टाटस लेख्दै साउथ इण्डियन फिल्मको प्रभुत्व माथि सचेत गराएका छन् ।

निर्देशक झरना थापा लेख्छिन, ‘अहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नु परेको छ, भोलि तपाईले पनि लड्नु पर्ने नै छ । बुढी मरि भन्दा पनि काल पल्कीएको हेक्का राख्नु हुन मेरो बिनम्र अनुरोध छ । चलचित्रकर्मी मित्रहरु, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बाँकी राख्छ त ? यो तथ्यलाई बिचार गर्नु होला ।’

साथै, ‘केजिएफ: च्याप्टर २’सँगको टक्करमा ‘ए मेरो हजुर ४’ पछि नहट्ने दृढ संकल्प गर्दै झरना थप्छिन, ‘कतिपयले हामी निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला चलाइरहेको हामीले थाह पायौं । यसमा हामीलाई दु:ख लागेको छ । हामीले हामीसँग भएको स्रोत, साधन, बजार र प्रबिधीअनुसार पूर्ण इमान्दारिताका साथ `ए मेरो हजुर ४´ निर्माण गरेका छौँ । हामी, हामीले दर्शकलाई गरेको वाचाप्रति कटिबद्ध छौ । चाहे जस्तोसुकै परिस्थिति आओस, हामी हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ती पनि पछि हटेका छैनौ। यसमा नेपाली चलचित्रको भलो नचाहनेहरु ढुक्क भए हुन्छ । हाम्रो चलचित्र सम्पूर्ण हलहरुमा पुगीसकेको छ । हामी बैशाख १ मै दर्शकमाझ आउछौं ।’

केहि महिना अगाडी मात्रै ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमारले पनि साउथ इण्डियन फिल्म प्रभुत्वको बारेमा सचेत गराएका थिए । उनले साउथ फिल्म नेपाली फिल्मको लागि काल बनेर देखा पर्नेसम्मको अभिव्यक्ति दिएका थिए । नभन्दै अहिले माहोल त्यस्तै बन्दै गइरहेको छ ।

रोमान्टिक लभस्टोरी ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । फिल्मको अग्रिम बुकिङपनि खुल्ला भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्