तीन वर्षको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ घोषणा



रंगखबर, काठमाडौँ – चलचित्र पत्रकार संघ, नेपालले २०७७ देखि ०७९ सम्मको लागि ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ घोषणा गरेको छ ।


कोरोना महामारीका कारण तीन वर्षदेखि घोषणा नभएको पुरस्कारलाई समेट्दै अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा शनिबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७७

संघले २०७७ सालको ‘चलचित्र पत्रकारिता सम्मान’बाट शान्तिप्रिय र राजन घिमिरेलाई सम्मान गर्ने निर्णय गरेको छ । यस्तै यो वर्षका लागि ‘चलचित्र पत्रकारिता पुरस्कार’द्वारा आरडी शृंखला र दिवाकर मैनालीलाई पुरस्कृत गरिनेछ । भने, प्रोत्साहन पुरस्कार रीना मोक्तानले प्राप्त गरेकी छन् ।

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७८

‘चलचित्र पत्रकारिता सम्मान – २०७८’बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई सम्मान गर्ने निर्णय गरिएको छ ।

यस वर्ष कुमार आचार्य र गीता अधिकारीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिनेछ । भने, प्रोत्साहन पुरस्कार मनोज न्यौपानेले प्राप्त गरेका छन् । यस्तै वर्षदेखि थप गरिएको ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ कास्कीका रेम विकलाई प्रदान गरिएको छ ।

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७९

२०७९ को ‘चलचित्र पत्रकारिता सम्मान’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदीलाई सम्मान गरिने निर्णय गरिएको छ ।

यस्तै यो वर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार’ विष्णु सुवेदी र नेमिष गौतमलाई प्रदान गरिएको छ । भने, प्रोत्साहन पुरस्कार उद्धव रसाइलीले प्राप्त गरेका छन् । ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ मकवानपुरका श्री राम अर्जुनलाई प्रदान गरिएको छ ।

संघले बैठकमा यस वर्षको जेठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिवस सामान्य तरिकामा मनाइने निर्णय गरेको छ । संघारमा रहेको स्थानीय चुनावको असरलाई मध्येनजर गर्दै सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम भने पछाडी सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्