पात्रको जीवन बाँच्न खोज्दै प्रदीप



रंगखबर, काठमाडौँ – अभिनेता प्रदीप खड्काका लागि २०७९ विशेष सालका रुपमा रहनेछ । यो वर्ष प्रदीपका दुई ठुला फिल्म ‘प्रेमगीत ३’ र ‘प्रकाश’ प्रदर्शन हुनेछन ।

यी दुई फिल्ममा प्रदीप भिन्न भूमिकामा ढलेका छन् । ‘प्रेमगीत ३’मा योद्धा र ‘प्रकाश’मा निभाएको जुम्ली युवकको भूमिकाले उनको कोरोनापछिको करिअरको यात्रा कोर्नेछ ।

यसअघि आफुलाई लभरव्वायको रुपमा प्रस्तुत गर्दै आएका प्रदीपले ‘प्रकाश’बाट अभिनयको संसारमा उज्यालो छर्ने कोसिस गरेका छन् । दिनेश राउतले निर्देशन गरेको ‘प्रकाश’को टिजरपनि रिलिज भैसकेको छ ।

सार्वजनिक टिजरमा प्रदीपको लूक्स, लवज र उनले बाँचेको जीवनले दर्शकलाई हलसम्म डोर्याउन सक्छ । यसअघि अभिनयबाट दर्शकको मन जित्न नसकेका प्रदीपमाथि अहिले सबैको नजर गडेको छ । आखिर कस्तो काम गरेका छन् त ‘प्रकाश’मा ?

बेपत्ता बाबुको सपना पुरा गर्न आफ्नो रहरको बलिदान, विकट क्षेत्रमा सरकारी शिक्षक बन्न गर्नुपर्ने संघर्ष टिजरमा देख्न सकिन्छ ।

बिकास सुवेदीले लेखेको ‘प्रकाश’मा प्रदीपसँगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी, निरज पन्थी, देवकुमार श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको यो फिल्म भदौ १० मा हल छिर्दैछ ।

प्रतिक्रिया दिनुहोस्