साम्राज्ञीको जोडी बनेर डेब्यु गर्दै निश्चल खड्का



रंगखबर, काठमाडौँ – एबी इन्टरनेशनलले निर्माण गर्ने फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनेताको रुपमा निश्चल खड्काले डेब्यु गर्ने भएका छन् ।

कलाकार छनोटको क्रमलाई निरन्तरता दिंदै निर्माण पक्षले मुख्य अभिनेता पक्का गरेको हो । निश्चलले फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसंग जोडी बाँध्नेछन् ।

घनश्याम लामिछानेले निर्देशन गर्ने रोमकम ड्रामा (रोमान्टिक कमेडी)बाट मोडल गरिमा शर्माले पनि डेब्यु गर्दैछिन । उनको जोडीको रुपमा ‘लम्फु’ डेब्यु अभिनेता कबीर खड्का हुनेछन ।

अस्ट्रेलियामा अध्ययन सकाएर फिल्म खेल्न नेपाल आएका निश्चलले केहि विज्ञापनमा मोडलिङसमेत गरेका छन् ।

यात्रासंग जोडिएको आधुनिक प्रेमकथा भन्ने यस फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

अहिले फिल्मका कलाकारहरु वर्कसपमा व्यस्त छन् । नाट्यकर्मी तथा अभिनेत्री सरिता गिरीले कलाकारहरुलाई प्रशिक्षण दिइरहेकी छन् ।

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्ममा अजित सिंहले सघाउनेछन ।

प्रतिक्रिया दिनुहोस्