‘झिँगेदाउ’को टाइटल टिजरमा केकीको जितको गुञ्जन



रंगखबर, काठमाडौँ – ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ ।

२९ सेकेण्ड लामो टिजरमा झिँगा र सिक्काको एनिमेटेड दृश्य देखाइएको छ । ब्याकग्राउन्डमा अभिनेत्री केकी अधिकारीको जितको गुञ्जन सुनिन्छ । निर्देशक देउजाले फिल्मको कथासार बुझाउन टाइटल टिजर सार्वजनिक गरेको बताएका छन् ।

भदौ १७ मा रिलिज हुने फिल्मको पोस्ट प्रोडक्सनको कार्य सकिएको छ । केहि दिन मै निर्माण पक्ष पहिलो गीत सार्वजनिक गर्ने योजनामा रहेको छ ।

भीमनिधि तिवारीको कथा कृतिमा आधारित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका छ । पारिवारिक कथामा केकी र आँचलले देउरानी-जेठानीको भूमिका निर्वाह गरेका छन् ।

प्रदीप भारद्वाजको पटकथा र संवादमा बनेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे ‘कल्पित’को छायांकन र मित्रदेव गुरुङको सम्पादन छ ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सहनिर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् ।

प्रतिक्रिया दिनुहोस्