माफि माग्दै माग्नेले हटाए महादेवको दृश्य, संवेदनशील विषयमा गम्भीर बन्न मनोजको सुझाव



रंगखबर, काठमाडौँ – हिन्दु धर्मका आराध्यादेव भगवान शिवजीलाई मजाक बनाएर कमेडी गरेपछि ‘कमेडी हब’का निर्देशक केदार घिमिरे (माग्ने बुढा)ले माफि मागेका छन् ।

आइतबार राति रिलिज गरिएको शोको १०औं एपिसोडको ट्रेलरमा भगवान शिवलाई मजाक उडाउदै कमेडी गरिएको थियो । महादेवपनि स्त्रीलम्पट हुन् भन्ने खालको संदेश दिइएको उक्त ट्रेलर आलोचित बनेको थियो ।

टिकटकलगायतका सामाजिक संजालमा भाइरल भएको उक्त भिडियोमा दर्शक रिसाएका थिए ।

चौतर्फी विरोध आएपछि केदारले स्टाटस लेख्दै माफि मागेका हुन् । अहिले उक्त ट्रेलरलाई सम्पादन गरेर अपलोड गरिएको छ ।

उनि लेख्छन, ‘हामिले मिडिया हब मार्फत निर्माण र एपी वान तथा मिडिया हब युट्युब च्यानलबाट प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतीमा आराध्यदेब महादेबलाई लिएर बनाइएको बिषय बस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रती हाम्रो ध्यानाकर्षण भएको छ । अन्जान मै हामीबाट भएको त्रुटिप्रती सम्पूर्ण दर्शकज्युहरु समक्ष हामी क्षमा माग्दछौ । साथै हामिले सम्पूर्ण दर्शक, शुभचिन्तकहरुको सल्लाह र परामर्श बमोजिम यो बिषयबस्तुलाई युट्युब/टिकटक/फेसबुक सबै तिरबाट हटाइ सकेका छौ। बम बम भोले । जय भोले ।’

उक्त ट्रेलर रिलिज भएपछी गायक संजय श्रेष्ठले पनि उक्त एपिसोड रोक्न आग्रह गरेका थिए ।

केदारको स्टाटसमा हास्य कलाकार मनोज गजुरेलले जात, धर्म, देश र आमाको विषयमा कमेडी गर्दा गम्भीर भएर सोच्न आग्रह गरेका छन् । साथै गल्ति सबैबाट हुने र माफि माग्नु नै सबैभन्दा उत्तम निर्णय रहेको आशयसहित सुझाव दिएका छन् ।

यस्तै अर्का हास्यकलाकार दीपकराज गिरीले पनि कमेडीको दौरान भएका यस्ता त्रुटीको सहि/गलत पत्ता लगाउन तर्फ लाग्नु भन्दा माफि माग्नु नै उत्तम भएको कमेन्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्