रामबाबुको ‘फूलबारी’मा दयाहाङ, विपिनदेखि प्रियंकासम्म



रंगखबर, काठमाडौँ – निर्देशक रामबाबु गुरुङले नयाँ फिल्म ‘फूलबारी’ निर्माण घोषणा गरेका छन् ।

बुधबार राजधानीमा एक प्रेसमिट आयोजना गर्दै ‘फूलबारी’ सम्बन्धि जानकारी साझेदारी गरियो ।

सामाजिक कथाबस्तुमा निर्माण हुने फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्कीको मुख्य भूमिका रहनेछ ।

‘कबड्डी ४’ ब्लकबस्टर बनेपछि निर्देशक रामबाबुले दयाहाङसंग फेरि सहकार्य गरेका हुन् । दयाहाङले रामबाबुको निर्देशनमा ९औं पटक अभिनय गर्न लागेका हुन् ।

यस्तै विपिनलाई पहिलो पटक रामबाबुसंग सहकार्य गर्ने अवसर जुटेको हो । फिल्ममा विपिन र अभिनेत्री अरुणा कार्कीले पाका दम्पतिको भूमिका निर्वाह गर्नेछन् ।

कमल किशोर मलपानीको कथा/कन्सेप्ट र उपेन्द्र सुब्बाको पटकथा रहने फिल्ममा सिर्जना सुब्बा, लोकेन्द्र लेखक, मिरुना मगर, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाललगायतका कलाकारको पनि अभिनय रहनेछ ।

‘फूलबारी’ मार्फत यशोदा फिल्म्सले फिल्म निर्माणको कार्य अगाडी बढाएको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहने फिल्ममा मनिष ढकालको निर्माण रहनेछ ।

भदौदेखि छायांकनमा उत्रिने फिल्ममा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्