‘गुलाबी’को कास्कीमा शुभ साइत



रंगखबर, काठमाडौँ – समुन्द्र भट्टको निर्देशनमा निर्माण घोषणा भएको फिल्म ‘गुलाबी’को कास्कीमा शुभ साइत गरिएको छ । शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सिता बराह आयर-भयर मन्दिरमा फिल्मको शुभ साइत गरिएको हो । क्यामेरा र स्कृप्ट पूजा कार्यक्रममा निर्माण टिम र उपलब्ध कलाकारहरूको उपस्थिति थियो ।फिल्ममा नाजिर हुसैन मुख्य अभिनेता छन् । यसैसाता नाजिरले सेट ज्वाइन गर्ने र फिल्मको औपचारिक छायांकन सुरु हुने निर्देशक भट्टले बताइन् । फिल्मलाई धम्पुस, पोखरा र काठमाडौंमा छायांकन गरिनेछ । भदौ अन्तिम साताबाट फ्लोरमा जाने पुर्वनिर्धारित तालिका अनुसार निर्माण टिम छायांकनको लागि निस्केको हो । दशैं अगावै छायांकन सक्ने निर्माण टिमको लक्ष्य छ । फिल्ममा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ मुख्य अभिनयमा रहनेछन् । यसअघि निर्माण टिमले नाजिरको मात्रै नाम सार्वजनिक गरेको थियो । निर्देशक भट्टकै कथामा बन्न लागेको फिल्मले पारलैङ्गिकताको कथा बोल्नेछ । फिल्ममा पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसैनको छ ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मस् सँगको सहकार्यमा निर्माण हुने ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गर्दैछन् । भद्र भुजेल एसोसिएट निर्देशक रहने फिल्ममा पुष्कर लामाको निर्माण नियन्त्रण रहनेछ भने निर्माण व्यवस्थापकमा यम वली छन् । सीमा गुरुङको शृङ्गार रहनेछ । क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी निर्देशक भट्टले केहि वर्ष पहिले ‘आधा पेज’ नामको फिल्म निर्देशन गरेकी थिइन् । केहि वर्षको अन्तरपछि भट्ट पुनः फिल्म निर्देशनमा फर्किएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्